Saturday, July 27News That Matters

दिक्तेलस्थित हाडडाँडा हाट अब बिहान ७ बजेबाट सुरु हुने

बजार अनुगमनसँगै आगामी बुधबारदेखि बिहान ७ बजेबाट मात्र बजार सुरु गर्न अनुरोध गर्दै मेयर भट्टराई, सिडियो सुनार, डिएसपी खड्का लगायत

खोटाङ, मंसिर २ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको प्रमुख व्यापारिक केन्द्र दिक्तेलमा लाग्दै आएको हाटको समय परिवर्तन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हाटडाँडामा हरेक बुधबार र शनिबार लाग्दै आएको हाटको समय परिवर्तन गरिएको हो ।

हाटडाँडामा बिहान ३ बजे सुरु भएर करीब ७ बजे बजार उठ्ने गरेको छ । अब बिहान ७ बजेबाट बजार लाग्न सुरु हुने गरी समय परिवर्तन गरिएको बताइएको छ । बिहान ३ बजे बजार सुरुहुँदा टाढाका किसानहरु कृषि उपज लिएर अघिल्लै दिन एवं राती नै हिड्नु पर्ने बाध्यता छ । कृषि उपज खरिद बिक्री गर्न भइरहेको कठिनतालाई मध्यनजर गरेर बजार लाग्ने समय परिवर्तन गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

नगरपालिका, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ लगायतको समझदारीमा बजार लाग्ने समय परिवर्तन भएसँगै आगामी बुधबारबाट बिहान ७ बजेदेखि बजार सुरु हुने छ । बजार लाग्ने समय परिवर्तनको विषयमा शनिबार (आज) नगर प्रमुख भट्टराईसँगै, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्का, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन प्रसाद आचार्य लगायतको टोली बजार पुगेर जानकारी गराएका छन् ।

उक्त टोली शनिबार बिहान करीब ५ बजे बजार पुगेर माइकिङमार्फत बजार ७ बजेबाट मात्र सुरु गर्न अनुरोध गरेका हुन् । आगामी बुधबार पनि पुनः अनुगमन गरेर ७ बजेदेखि बजार सुरु गर्न अनुरोध गरिने डिएसपी खड्काले बताउनुभयो । ‘बिहान ३ बजे बजार सुरुहुँदा बास्तविक किसान र खरिद गर्ने ब्यक्तिको भेट नै नहुने रहेछ । किसानसँग दोस्रो ब्यक्तिले सामान खरिद गर्ने अनि बिक्री गर्नेहुँदा उपभोक्ताले बास्तविक मुल्यमा खरिद गर्न पाइएको देखिएन ।’ डिएसपी खड्काले भन्नुभयो, ‘त्यसैले किसान र उपभोक्ताको भेट भएर बास्तविक मुल्यमा किनबेच होस् भनेर ७ बजेबाट बजार सुरु गर्न अनुरोध गरेका छौँ ।’

बिहान ७ बजेबाट बजार सुरु हुने कुराले क्रेता तथा बिक्रेतासमेत खुशी भएका छन् । हरेक बुधबार र शनिबार हप्ताको दुई दिन लाग्ने हाटडाँडा हाटमा जिल्लाका विभिन्न ठाउँबाट किसानहरुले कृषि उपज बिक्री गर्न लिएर आउने गर्छन् ।