Saturday, July 27News That Matters

बाक्सिलामा एक घर जलेर नष्टहुँदा १५ लाख बराबरको क्षति, भाग्ने क्रममा लडेर एक जना घाइते


खोटाङ, मंसिर ४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । घरमा पालिएको ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किएर आइतबार राती किशोर दुमी राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आइतबार राती करीब ११ः४५ बाट सुरु भएको आगो इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी र स्थानीयले राती २ बजे नियन्त्रणमा लिएका थिए । चल्लालाई तातो दिन राखिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किएर ३ तले घर जलेर नष्टहुँदा करीब रु १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङ सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । आगलागीबाट ३ तले घरसँगै घर भित्र राखिएको २ तोेला सुन, ४ तोला चाँदि, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत जलेर पूर्णरुपमा नष्ट भएको छ ।

घरमा आगलागी भएपछि भाग्ने क्रममा राईकी भान्जी १५ वर्षीया सरिता तामाङ घाइते भएकी छिन् । भाग्ने क्रममा लडेर उनको अगाडिको २ वटा दाँत र एउटा हात भाँचिएको छ । स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको बताइएको छ ।