Saturday, July 27News That Matters

उपचार गर्न नसकेर थलिएका लफ्याङका जयकृष्णलाई नगरले लग्यो अस्पताल

एम्बूलेन्समा हालेर ट्रमा सेन्टर पठाउने क्रममा जयकृष्ण राईको अवस्था बारे बुझ्दै मेयर तीर्थराज भट्टराई ।

खोटाङ, मङ्सिर ४ । रुखबाट लडेर थला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ५६ वर्षीय जयकृष्ण राईलाई नगरपालिकाले उपचारका लागि अस्पताल लगेको छ । घाँस झार्ने क्रममा रुखबाट लडेर बायाँ खुट्टाको गेडी भाँचिएका राईलाई उपचारका लागि नगरपालिकाले एम्बूलेन्समा हालेर ट्रमा सेन्टर काठमाडौं लगेको हो ।

गत कात्तिक ७ गते डाले घाँस झार्ने क्रममा रुखबाट लडेर खुट्टाको गेडी टुक्रिएका कारण संक्रमण भएर तिघ्राको मासु कुहिएर गन्हाउन थालेपछि राईलाई कात्तिक १३ गते जिल्ला अस्पतालमा लगिएको थियो । तर जिल्ला अस्पतालले तत्काल अन्यत्र लैजान भनेपछि उनलाई सोही दिन दिक्तेलको फेमिली केयर अस्पतालमा पु¥याइएको थियो । फेमिली केयरमा एक्स–रे गरेपछि राईको गेडी भाँचिएको पूष्टि भएको थियो । फेमिली केयरका सञ्चालक डा. कृष्णकुमार राई (केके)का अनुसार घाइतेको हिपज्वइन्टमा फ्याक्चर्ड नेक अफ फेमर भएको छ । उपचार गर्नेक्रममा गेडी फेर्नुपर्ने अवस्था देखिएपछि र घाउ थप कुहिँदै गएपछि उनलाई फेमिलीकेयरले मङ्सिर २ गते अन्यत्र रेफर गरेको थियो । तर उपचार गर्ने पैसा नभएका कारण सुविधा सम्पन्न अस्पताल लैजानुको सट्टा घर फर्काउने तयारी भइरहेका बेला घाइतेलाई नगरपालिकाले उपचार खर्च बेहार्नेगरी ट्रमा सेन्टर लगेको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

रुखबाट लडेपछि खुट्टा मर्किएको भनेर रक्सी सेवन गर्दै हिँडडुल गरेकाले भाँचिएको गेडीमा इन्फेक्सन भएर मासु कुहिन थालेको भतिज किसन राईले बताउनुभयो । अहिले उहाँको तिघ्राको मासु पाकेर पिप बगिरहेको छ । तिघ्रा पाकेपछि उनी उठेर बस्न समेत नसक्ने अवस्थामा पुगेको भतिज राईको भनाइ छ । “फेमिली केयरले गेडी फेर्न काठ्माडौं लैजानु, पाँच लाख जति लाग्छ भन्यो । बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएको मान्छेले त्यत्रो रकम कहाँबाट ल्याउनु,” किसनले भन्नुभयो, “अस्पताल होइन, घर फर्काउनुपर्छ भनेर तयारी भैरहेकोबेला मेयरले थाहा पाउनु भएछ । उहाँले नगरकोतर्फबाट उपचारको व्यवस्था गरिदिन्छौँ, अस्पताल लैजानु भनेपछि घाइतेलाई ट्रमा सेन्टरमा पु¥याएका छौँ ।”