Saturday, July 27News That Matters

बराहपोखरीमा आज सांस्कृतिक महोत्सव, गाउँपालिकाद्धारा २ दिन सार्वजनिक विदा

खोटाङ, मङ्सिर ६ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा बुधबार सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । हरिबोधनी एकादशीमा भब्य मेला लाग्दै आएको बराहपोखरीमा एकादशीको अघिल्लो दिन महोत्सवको आयोजना गरिएको हो ।

बुधबार हुने सांस्कृतिक महोत्सव र बिहिबार एकादशीको दिन लाग्ने मेलालाई मध्यनजर गरेर बराहपोखरी गाउँपालिकाले २ दिनको सार्वजनिक बिदासमेत दिएको छ । कात्तिक २० गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार मङ्सिर ६ र ७ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

रातो माछाले प्रसिद्ध बराहपोखरीको दर्शन गरे र पोखरीको पानीले नुहाए शरिरका रोगब्याधी निको हुने र चिताएको कुरा पुरा हुने जनविश्वास छ । पोखरीमा हरिबोधनी एकादशीको दिन भब्य मेला लाग्दै आएको छ । यस वर्ष पोखरीको प्रचारका लागि एकादशीको अघिल्लो दिन सांस्कृतिक महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताउनुभयो ।

महोत्सवका लागि खोटाङ कलाकार समाजमा आबद्ध दर्जन कलाकारसँगै चर्चित गायक शम्भु राई, कमल खत्री र हास्यकलाकार सुबोध गौतम लगायतका कलाकारहरु बराहपोखरी आइसकेका छन् ।

बराहपोखरीलाई सरकारले एक सय गन्तव्य सूचिमा राखेको छ ।