Monday, January 19News That Matters

पाठेघरको समस्या भएका २३ महिलाको अप्रेसन, एक वर्षसम्म जाने अन्यको पनि निःशूल्क हुने सम्झौता

उपचारका लागि अस्पताल पुर्‍यईएका महिलाहरुको स्वास्थ्य अवस्था बुझ्दै मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई लगायत

खोटाङ, मङ्सिर ७ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका पाठेघरको समस्या भएका २३ जना महिलाहरुको निःशूल्क अप्रेसन भएको छ । नगरपालिकाले काभ्रेस्थित सीरमेमोरीयल अस्पतालमा लगेर निःशूल्क अप्रेसन गराएको हो ।

मङ्सिर २ गते र ५ गते दुई चरणमा बस रिजर्भ गरेर महिलाहरुलाई नगरपालिकाले अस्पताल पु¥याएको थियो । नगरपालिकाले व्यवस्थापन गरेको बसमार्फत पाठेघरको समस्या भएका ३७ जना महिलाहरु अस्पताल पुगेका थिए । उनिहरु मध्ये २३ जनाको अप्रेसन भएको छ । १७ जनाको अप्रेसन सम्पन्न भएर फर्किसकेका छन् । ६ जनाको धमाधम भइरहेको मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । अस्पताल पुगेका अन्य १४ जना महिलाहरुको थेरापिमार्फत उपचार गरिएको छ । केही महिलाहरुको अप्रेसन गर्नु पर्ने देखिएपनि अन्य फोक्सो, मुटु, प्रेसर लगायतको रोगका कारण हुन नसकेको अस्पतालले जनाएको छ ।

सामुदायिक सेवा प्रतिष्ठान नेपालसँगको समन्वयमा नगरपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनसहितको उपचार सेवा उपलब्ध गराएको हो । बिरामी महिला र उनिहरुलाई कुर्ने ब्यक्ति असप्तालसम्म लाने ल्याउने काम नगरपालिकाले गर्ने र अस्पतालमा लाग्ने रकमसँगै खाने बस्ने ब्यवस्था प्रतिष्ठानले गर्ने गरी सम्झौता भएको मेयर भट्टराईले बताउनुभयो ।

यस्तै, आगामी एक वर्षसम्म नगरपालिकाले पठाएका महिलाहरुको निःशूल्क उपचार गर्ने गरी त्रिपक्षीय सम्झौतासमेत भएको छ । नगरपालिकाकातर्फबाट मेयर भट्टराई, प्रतिष्ठानकातर्फबाट निर्देशक महादेव बानिया र अस्पतालकोतर्फतबाट अस्पताल फाउण्डर डा. हेक्टर र अस्पताल प्रमुख डा.एन्जिला बस्नेत बीच बुधबार सम्झौता भएको हो ।

‘एक वर्षसम्म नगरपालिकाले सिफारिस गरेको महिलाको निःशूल्क उपचार गर्ने, नगरपालिकाले पठाएका २० जना स्वास्थ्यकर्मीलाई पाठेघरको समस्या पहिचान गर्ने उच्च स्तरको तालिम अस्पतालले दिने, आगामी फागुन चैत महिनामा आवश्यक उपकरणसहित १५ जनाको विज्ञ टोली दिक्तेल आएर ९–१२ कक्षासम्म पढ्ने किशोरीलाई पाठेघरको समस्याबाट जोगिनलाई अपनाउनु पर्ने सावधानीको विषयमा प्रशिक्षित गराउने ।’ सम्झौता भएको मेयर भट्टराईले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक वडामा गएर परिक्षण गर्दा अप्रेसन गर्नु पर्ने करीब ६२ जना बिरामी फेला पारेको थियो । थप उपचार तथा अप्रेसनका लागि बिरामीलाई जिल्लामा सम्भव नभएपछि सीरमेमोरीयल अस्पताल लाने नगरपालिकाले तयारी गरेको थियो । तर अशिक्षाका कारण सबै बिरामी अस्पताल जान नमानेको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खमेराज आचार्यले बताउनुभयो । पाठेघरको समस्या अरुलाई देखाउन नमान्ने, त्यसको उपचार हुन्छ भन्ने ज्ञान नभएको कारण उनिहरु अस्पतालसम्म गएनन् । नगरपालिकाले निःशूल्क अप्रेसन गर्ने भन्दा पनि महिलाहरु नमान्ने गरेको उहाँको भनाइ छ । पहिलो र दोस्रो डिग्रीसम्म समस्या भएका महिलाहरुको पाठेघरमा रिङ प्रेसरी राखेर वडामै उपचार गरिएको छ । तेस्रो र चौथो डिग्री समस्या भएका महिलाहरुलाई सीरमेमोरीयल अस्पताल लगिएको हो ।

गाउँघरमा धेरै आमा दिदिबहिनीहरु पाठेघरको समस्याले ग्रसित रहेकाले उनिहरुको समस्याको समाधानका लागि उपचारको निःशूल्क व्यवस्था नगरपालिकाले मिलाएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । ‘गाउँ घरमा धेरै दिदिबहिनीहरु, विशेषगरी ६० वर्ष माथिका ह्रारो काम गरिरहेका महिलाहरु यो रोगबाट पीडित छन् । सबै महिला दिदिबहिनीहरुले खुलेर यो रोगका विषयमा भन्न नसक्दा झनै जटिलहुँदै जाने भएकाले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’ मेयर भट्टराईले भन्नुभयो, ‘अस्पतालमा ८० वर्षसम्मका आमाहरुको अप्रेसन भएको छ । ४०÷४२ वर्षदेखि यो रोग लुकाएर उहाँहरु बसिरहनु भएको रहेछ ।’

पाठेघरको समस्या भएका एक जना महिलाको उपचारका लागि करीब रु ७० देखि ७५ हजारसम्म खर्च हुने देखिएको मेयर भट्टराईको भनाइ छ । सामुदायिक सेवा प्रतिष्ठान नेपालसँगको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने निःशूल्क उपचार गराएको छ ।

अस्पताल र प्रतिष्ठानलाई प्रशंसापत्र प्रदान गर्नुहुँदै मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई