Saturday, July 27News That Matters

निःशूल्क हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचायो

सालनाल अड्किएर चिन्ताजनक स्वास्थ्य अवस्थाकी सुत्केरी गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरिदै ।

खोटाङ, मङ्सिर १४ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचेको छ । सालनाल अड्किएर गम्भीर अवस्थामा पुगेकी रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी अनिशा गुरुङको ज्यान हवाई उद्धार सेवाले बचाएको हो ।

३० वर्षीया गुरुङको मंगलबार राती ११ बजे होम डेलीभरी भएको थियो । तर सालनाल अड्किएर गुरुङको अवस्था चिन्ताजनक भएपछि स्टेचरमा बोकेर स्थानीय डुम्रेधारापानी स्वास्थ्य चौकीमा लगिएको थियो । सुत्केरीको अत्याधिक रक्तस्राव भएकाले जिल्लामा उपचार सम्भव नदेखिएपछि हवाई उद्धारका लागि पालिकालाई खबर गरिएको स्वास्थ्य चौकी इन्चार्ज सिनियर अहेव मनि अधिकारीले बताउनुभयो । पालिकाले जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएपछि हेलिकोप्टरमार्फत गुरुङलाई काठमाडौं लगिएको हो ।

बुधबार अपरान्ह काठमाडौंस्थित थापाथली प्रसूति गृह पु¥याइएकी सुत्केरी गुरुङको स्वास्थ्य अवस्था क्रमश सुधार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । बच्चाको अवस्था सामान्य रहेको छ ।

गर्भ जाँचका क्रममा गुरुङको सुगरको मात्र उच्च देखिएपछि प्रसूतिका लागि राम्रो अस्पताल जान स्वास्थ्य चौकीले सुझाएको थियो । तर परिवारले उक्त सुझावको बेवास्ता गरेको अहेव अधिकारी बताउनुहुन्छ । स्थानीय वर्थीङ सेन्टरमासमेत नलगेर होम डेलीभरी गराएपछि सुत्केरीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको अधिकारीको भनाइ छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत निःशूल्क हवाई उद्धार सेवाले गुरुङको ज्यान बचाएको छ ।