Friday, April 17News That Matters

हलेसीमा आँखा शिविर हुँदै, मोतीविन्दु भएकाहरुको निःशूल्क अप्रेसन गरिने

खोटाङ, पुस २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सञ्चालन हुने भएको छ । पुस ५ देखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा आँखा सम्बन्धि समस्या भएकाहरुले निःशूल्क उपचार गराउन सक्ने छन् ।

हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा उपस्थित बिरामीहरुको निशुल्क आँखा जाँच हुने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आँखा जाँचबाट मोतीविन्दु तथा माइनर अप्रेसन गर्नु पर्ने बिरामीहरुको छनोट गरी निःशूल्क अप्रेसनसमेत गरिने उहाँको भनाइ छ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क उपलब्ध हुनेछ । ४० वर्ष माथिका ब्यक्तिहरुलाई निःशूल्क रिडिङ चस्मा प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।

अघिल्लो वर्ष हलेसीमा आयोजना भएको शिविरमा ७६ जनाको निःशूल्क अप्रेसन भएको थियो । शिविरमा ७ सय ६५ जनाले निःशूल्क आँखा परिक्षण गराएका थिए । लगातार दोस्रो वर्ष हलेसीमा आयोजना गरिएको आँखा शिविरमा यस वर्ष करीब १०० जनाको अप्रेसनमार्फत उपचार हुने अनुमान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । उहाँको भनाइ अनुसार आँखा अस्पताल लाहानका प्राविधिकसहित नगरपालिकाका विभिन्न ठाउँमा पुगेर मोदीविन्दु भएका धेरै बिरामीहरु पहिचान गरिएको छ । उनिहरुको सोही शिविरमा अप्रेसन गरिने छ ।

हलेसी बजारमा रहेको आँखा तथा कान उपचार केन्द्र हलेसीको कार्यालयमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिकासँगै जिल्ला भित्रका एवं जिल्ला बाहिर सबै ठाउँका नागरिकले उपस्थित भएर आँखा सम्बन्धि सेवा लिन सक्ने नगरपालिकाले जनाएको छ ।