Saturday, July 27News That Matters

बालाचतुर्दशी मेलाकालागि सोमबार हलेसी, रावा बेसी र खोटेहाङमा स्थानीय बिदा

हलेसी र चुडिमा बिगतको वर्ष लागेको मेला

खोटाङ, मंसिर २४ । खोटाङका तीन स्थानीय तहले सोमबार स्थानीय बिदा दिएका छन् । बालाचतुर्दशीको अवसरमा हलेसी तुवाचुङ नगरपालिका, रावा बेसी गाउँपालिका र खोटेहाङ गाउँपालिकाका धार्मिक स्थलमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

बालाचतुर्दशीको दिन हलेसी तुवाचुङमा अवस्थित सुप्रशिद्ध त्रिधार्मिक तपोभूमि हलेसीमा बृहत् मेला लाग्ने गरेको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि देश विदेशबाट दर्शनार्थीको बाक्लो उपस्थिति रहने गर्छ । सोही अवसरमा स्थानीय बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

यस्तै, रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित खोटाङको दोस्रो हलेसीको नामले परिचित जुडिमा पनि बालाचतुर्दशीको दिन भब्य मेला लाग्ने गर्दछ । हरेक बर्षको बालाचतुर्दशीको दिन जुडिमा लाग्ने मेलाको अवसरमा गाउँपालिकाले स्थानीय बदा दिएको जनाएको छ । गाउँपालिकाले निकालेको पात्रोमा नै बालाचतुर्दशीको दिन स्थानीय बिदा उल्लेख गरिएको छ ।

यस्तै, खोटेहाङ गाउँपालिका–४ स्थित सानो हलेसीले परिचित शोल ढुंगामा मेला लाग्ने भएकाले स्थानीय बिदा दिएको गाउँपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

तीन वटै पालिकामा सोमबार पालिकाका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायत सार्वजनिक निकायहरु बन्द रहनेछन् ।