Friday, April 17News That Matters

खोटाङमा मनाइयो मानव अधिकार दिवस, लैंगिक हिंसा विरुद्धको अभियान समापन


खोटाङ, मंसिर २४ । खोटाङमा ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन र मानव अधिकार दिवस संयुक्तरुपमा आइतबार दिक्तेलमा मनाइएको हो ।

दिक्तेल बजारमा सचेतनामूलक प्रभातफेरी निकाल्दै जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव अधिकारको इतिहास र हालको अवस्थाको विषयमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङका प्रमुख गीताकुमारी दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, जिल्ला प्रहरी कार्यालयकोतर्फबाट कार्यपत्र प्रस्तुत गर्दै प्रहरी निरीक्षक बेनु कार्कीले हाल जिल्लामा शारीरिकरुपमा अशक्त तथा बालबालिकामाथी बढी हिंसा भइरहेको बताउनुभयो । शारीरिकरुपमा अशक्त र १० वर्ष मुनिका बालिकामाथि यौनजन्य हिंसा पछिल्लो समय बढ्दै गएको उहाँको भनाइ छ । लैंगिक हिंसा तथा अन्य जुनसुकै हिंसाका पीडितको पक्षमा भन्दा पिडकको पक्षमा भनसुन धेरै हुने पनि उहाँले बताउनुभयो । पिडकलाई बचाउनतर्फ मानिसको हुल लाग्ने गरेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

खोटाङमा भएको तीन जना महिलाको हत्यामा संलग्न दोषी पत्ता नलागेको, हिरासतमा रहेका ब्यक्तिको मृत्यु भएको विषयमा मानव अधिकार आयोगले दोषी प्रहरीलाई कारबाही सिफारिस गर्दा पनि कारबाही नभएको, बजारमा एउटै मूल्य नभएको लगायतका विषयहरु कार्यक्रममा उठेका थिए ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दुर्गा जयन्ती राईले कानुन पढेकै मानिसहरुबाट लैंगिक हिंसा भइरहेको बताउनुभयो । कानुन नजानेकाहरुबाट बरु कम भएको छ तर कानुन जान्नेहरुबाटै लैंगिक हिंसा समाजमा बढी भइरहेको उहाँको तर्क थियो ।

कार्यक्रममा पूर्व सांसद कुल प्रसाद फुयाँल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक मेयर दिनेश घिमिरे, नेपाली कांग्रेस महासमिति सदस्य सुमनबाबु आचार्य, नेकपा एमालेका सचिव कुमार आचार्य, नेकपा माओवादी केन्द्रका सचिव संगीन राई, राप्रपाका अध्यक्ष ललितकुमार राई, नेकपा (एस) का नेता झुलेन्द्र विश्वकर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत दिनशे राई, कार्यापालिका सदस्य अञ्जना केसी, उद्योग वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलिप खत्री लगायतले लैंगिक हिंसा न्युनिकरण तथा मानव अधिकारको विषयमा धारणा राखेका थिए ।

यसैबिच, इन्सेककर्मी तारानाथ फुयाँललाई सम्मान गरिएको छ । हिंसा पीडित महिलालाई परबासका लागि ५ आना जग्गा र १० हजार नगद सहयोग गरेकोमा फुयाँललाई प्रमाणपत्रले सम्मान गरिएको कार्यक्रमका सञ्चालक तथा नगरपालिकाका महिला बालबालिकाका शाखा प्रमुख इरन राईले बताउनुभयो ।