
खोटाङ, मंसिर २१ । खोटाङको दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा पक्राउ परेका ९ जना मध्ये ४ जना कारागार चलान भएका छन् । पक्राउ परेका ५ जना भने धरौटीमा छुटेका छन् ।
खोटाङ जिल्ला अदालतमा १३ मंसिरमा दर्ता भएको ठगी सम्बन्धी कसूरका ३५ प्रतिवादीमध्ये ४ जना बिहीबार कारागार चलान भएको खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले बताउनुभयो । पुर्पक्षका लागि कारागार चलान हुनेमा सहकारीका तत्कालिन अध्यक्ष मृतक अनिल जोशीका भाई सुनिल जोशी, जोशीका श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेल रहेका छन् ।
सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख र सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाँई र सचिव मनोज राई ५–५ लाख धरौटीमा छुटेको श्रेस्तेदार खड्काले बताउनुभयो ।
अन्य प्रतिवादी अदालतमा हाजिर भएपछि साँक्षी प्रमाण बुझेर मात्रै फैसला हुनेछ । २६५ जना बचतकर्ताको जाहेरीमा सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ४ करोड ४० लाख ६१ हजार १८ रुपैयाँ सहकारी विरुद्ध बिगो मागदाबीसहित अभियोगपत्र अदालतमा दर्ता गराएका थिए ।
वि.सं. २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको सहकारीको तत्कालीन अध्यक्ष जोशीको निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि आर्थिक कारोबार ठप्प रहेको छ । सहकारी ठप्प भएपछि बचतकर्ताले २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीको परिवारका पाँचजना सदस्यसहित आठजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।
