
खोटाङ, मङ्सिर २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडा वडामै योजना सम्झौता र बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाहरु सम्बन्धित वडामै सम्झौता भइरहेको हो । सबै उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको नगरपालिकाका योजना शाखामा कार्यरत रमेश श्रेष्ठले बताउनुभयो । योजना सम्झौतासँगै उपभोक्ता समितिको बैंक खाता पनि वडाबाटै खोल्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म ४ वटा वडामा योजना सम्झौता र बैंक खाता खोल्ने काम सकिएको छ ।
वडा नम्बर १ बाहुनिडाँडामा ५ वटा योजना, वडा नम्बर २ डिकुवामा ७ वटा, वडा नम्बर ३ च्यास्मिटारमा १० वटा र वडा नम्बर ११ राजापानीमा ५ वटा योजनाहरु सम्झौता भएका छन् । प्राय सबै वडामा सडक, खानेपानी र शैक्षिक सुधारसँग सम्बन्धित विद्यालय व्यवस्थापनका योजनाहरु रहेका छन् । प्रत्येक वडामा एउटा योजना १० लाख माथिको र सबै योजनाहरु १ लाख माथिको रहेका श्रेष्ठले बताउनुभयो । नगरपालिकाको निर्णय अनुसार खरिद बिक्री भने टेण्डटरमार्फत गरिने छ ।
नगरपालिकाको कार्यालय नजिकै रहेका वडाहरु ५ दुर्छिम र ७ महादेवस्थानका योजनाहरु नगरपालिकामै सम्झौता गरिनेछ । बाकी रहेका अन्य ५ वटा वडाका योजनाहरु पनि केही समय भित्र सम्बन्धित वडामै पुगेर सम्झौता गरिने बताइएको छ ।
दुरी टाढाहुँदा नगरपालिकासम्म आउन उपभोक्ता समितिलाई खर्चिलो भएकाले वडामै योजना सम्झौता हुने व्यवस्था मिलाइएको मेयर विमला राईले बताउनुभयो । ‘नगरपालिकाको भूगोल ठुलो छ, वडाहरु टाढा टाढासम्म छन्, योजना सम्झौता गर्न नगरपालिकासम्म र खाता खोल्न बैंकसम्म पुग्दा उपभोक्ताहरुको धेरै खर्च हुने गरेको छ ।’ मेयर राईले भन्नुभयो, ‘त्यसैले स्थानीय सरकारको अनुभूति दिलाउन योजना सम्झौता गर्ने काम र बैंक खाता खोल्ने काम वडामै हुने व्यवस्था मिलाएका हौँ ।’ नगरपालिकाका कर्मचारीसँगै माछापुछ्रे बैंकका कर्मचारीहरु पनि वडामै पुगेर उपभोक्ता समितिका खाता खोल्ने काम गरिरहेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाको यो अभियानले धेरै सहज भएको उपभोक्ताहरु बताउँछन् । ‘योजना सम्झौता गर्न नगरपालिकासम्म जानु पर्ने, कहिले कागजपत्र नमिलेर फर्किनु पर्ने, फेरी खाता खोल्न ३ जना बैंकसम्म पुग्नु पर्ने हाम्रो बाध्यता थियो ।’ बाहुनिडाँडाका उपभोत्ता मणी कुमार राईले भन्नुभयो, ‘यो वर्ष त अब ढुक्क भयो, सबै काम वडामैहुँदा हाम्रो धेरै खर्च जोगियो ।’
यस्तै, राजापानीका उपभोक्ता युवराज कार्कीका अनुसार नगरपालिका र बैंक धाउदा धेरै खर्च हुने भएकाले सानातिना योजना सञ्चालन गर्न कठिन हुने गरेको थियो । नगरपालिकाले वडामै योजना सम्झौता र बैंक खाता खुल्ने व्यवस्था मिलाएपछि सहज भएको उहाँको भनाइ छ ।
