Saturday, July 27News That Matters

खोटाङबाट कांग्रेसको महासमिति सदस्यमा ११ जनानै सर्वसम्मत निर्वाचित


खोटाङ, मङ्सिर २० । खोटाङमा नेपाली कांग्रेसको महासमिति सदस्य सर्वसम्मत चयन भएको छ । आवश्यक भन्दा बढी ब्यक्तिको उम्मेद्वारी नपरेपछि जिल्लाबाट ११ जनालाई सर्वसम्मत निर्वाचित गरिएको नेपाली कांग्रेस खोटाङले जनाएको छ ।

एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने कांग्रेसको विधानको व्यवस्था छ । सोही अनुसार खोटाङबाट ११ जना महासमिति सदस्यका लागि मङ्सिर १९ र २० गते निर्वाचन मिति तोकिएको थियो । तोकिएको समयमा ११ जनाको मात्रै उम्मेद्वारी परेपछि उहाँहरुलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत एवं नेपाल शिक्षक संघ खोटाङका अध्यक्ष मेजर राईले जानकारी दिनुभयो ।

खोटाङबाट महासमिति सदस्यमा खुलातर्फ सुवास कुमार पोखरेल, शहरमान राई, जितेन्द्र सिंह ठकुरी, रविप्रकाश राई, लोकेन्द्र राजभण्डारी, कमला राई र सरिता खड्का, आदिवासी जनजातीतर्फ भिषण राई र देबकुमारी राई, खस आर्यतर्फ सुमनबाबु आचार्य र दलिततर्फ राकेश परियार निर्वाचित भएको निर्वाचन अधिकृत राईले बताउनुभयो ।

जिल्लाबाट निर्वाचित भएका सदस्यहरुले काठमाडौंमा मङ्सिर २९ देखि पुस २ गतेसम्म हुने महासमिति सदस्यको बैठकमा भाग लिने छन् । नेपाली कांग्रेस खोटाङका सभापति विष्णु कुमार राईका अनुसार अधिवेशनकै समयमा महासमिति सदस्यहरु पनि निर्वाचित गराउनु पर्ने थियो । ‘जिल्लामा भएको अधिवेशनकै समयमा महासमिति सदस्यहरुको पनि निर्वाचन हुनु पर्ने हो, तर त्यो बेला अधिवेशनमा मत हालेर क्षेत्रिय प्रतिनिधिहरु घर हिडिहाल्नु भयो ।’ उहाँले भन्नुभयो, ‘त्यसपछि महासमिति सदस्यको निर्वाचन उक्त समयमा हुन सकेको थिएन ।’

कांग्रेसको विधान अनुसार महासमिति सदस्य क्षेत्रिय प्रतिनिधिले चयन गर्ने व्यवस्था छ । आवश्यक भन्दा बढीको उम्मेद्वारी नपरेपछि खोटाङमा निर्वाचन गर्न नपरेको बताइएको छ ।