
खोटाङ, पुस ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सुरु भएको छ । आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि अप्रेसनसहितको शिविर हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारबाट सुरु भएको हो ।
शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका छन् । आँखाको समस्या भएका बृद्धबृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका छन् ।
हलेसीका ७८ वर्षिया मनसरा राई अघिल्लो वर्ष सोही ठाउँमा भएको शिविरमा एउटा आँखाको मोतीविन्दु अप्रेसन गरेर केही सुधार भएपछि अहिले अर्को आँखा अप्रेसनका लागि आएको बताउनुहुन्छ । यस्तै, राजापानीका ८७ वर्षिय जनकप्रसादन घिमिरे पनि आँखामा मोतीविन्दु भएपछि अप्रेसनका लागि आएको बताउनुहुनछ । ‘आँखामा समस्या भएपछि केही समय काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा गएको थिएँ, आँखामा मोतीविन्दु भएको छ अप्रेसन गर्नुपर्छ भन्यो ।’ घिमिरेले भन्नुभयो, ‘उक्त समय मेरो फुर्सद नभएकाले म घर फर्किएँ र अहिले यहाँ शिविर छ भनेपछि आएको हुँ ।’ यस्तै, आँखाको उपचारका लागि बडहरेका ९१ वर्षिया मनमाया विश्वकर्मालाई परिवारका सदस्यले बोकेर शिविरमा ल्याएका छन् ।

शिविरको पहिलो दिन २ सय ५१ जना ब्यक्तिहरु उपचारका लागि आएका छन् । उनिहरुको आँखा परिक्षण पश्चात औषधि उपचार, चस्मा प्रदानसँगै निःशूल्क अप्रेसन गर्ने काम धमाधम भइरहेको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबारसम्म सञ्चालन हुने शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । बिहिबार शिविरको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि तथा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर बिमा गर्ने र बिमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मेयर राईसँगै, उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, वडा नम्बर एकका वडाध्यक्ष रुद्रकुमार राई, वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरि, नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरे, नेपाल नेत्र ज्योती संघ खोटाङका अध्यक्ष इन्द्र कसजु लगायतको उपस्थिति रहेको थियो ।
अघिल्लो वर्ष हलेसीमा सञ्चालन भएको आँखा शिविरमा ७ सय ६५ जनाले निःशूल्क आँखा परिक्षण गराएका थिए । जसमध्ये ७६ जनाको निःशूल्क अप्रेसन भएको थियो । यस वर्ष करीब १०० जनाको अप्रेसनमार्फत उपचार हुने अनुमान गरिएको छ ।



