Friday, April 17News That Matters

हलेसीमा भएको आँखा शिविरमा ९१ जनाको निःशूल्क अप्रेसन, ५९० जनाले लिए सेवा

खोटाङ, पुस ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीन दिने निःशूल्क आँखा शिविरमा ९१ जनाको अप्रेसन गरिएको छ । हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारदेखि शनिबारसम्म सञ्चालन भएको शिविरमा ९१ जनाको अप्रेसनमार्फत उपचार गरिएको हो ।

९१ मध्ये ६४ जनाको मोतीविन्दुको अप्रेसन गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । अन्य २७ जनाको आँखामा मासु पलाएको, मासुको ढल्लो देखिएको (माइनर) अप्रेसन गरिएको उहाँको भनाइ छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ५ सय ९० जनाले निःशूल्क सेवा लिएका छन् । ४ सय बढीलाई निःशूल्क औषधि तथा १ सय ५० बढीलाई निःशूल्क चस्मा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । अप्रेसन गरिएको ९१ जनालाईनै कालो चस्मा पनि निःशूल्क प्रदान गरिएको छ ।

अप्रेसन पश्चात बिरामीहरु

शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, सोकला गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका थिए । आँखाको समस्या भएका बृद्धबृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका थिए ।

आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि हलेसीमा आयोजना गरिएको निःशूल्क आँखा शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ ।

शिविरको बिहिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले औपचारिक उद्घाटन गर्नुभएको थियो । शिविरको औपचारिक उद्घाटन गर्दै मेयर राईले नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर बिमा गर्ने र बिमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनुभएको थियो ।

हलेसीमा लगातार दोस्रो वर्ष आँखा शिविर आयोजना गरिएको हो । अघिल्लो वर्ष भएको आँखा शिविरमा ७ सय ६५ जनाले निःशूल्क आँखा परिक्षण गराएका थिए । जसमध्ये ७६ जनाको अप्रेसन भएको थियो ।

उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरु