
खोटाङ, पुस १० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा एक दिने एकीकृत घुम्ती शिविर आयोजना गरिएको छ । अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण, नागरिकताकालागि कागजपत्र संकलन एवं स्वास्थ्य, कृषि तथा पशुसम्बन्धि विभिन्न सेवाकालागि घुम्ती शिविर आयोजना गरिएको हो ।
उक्त घुम्ती शिविरमा ४७७ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाज नेपालले खार्मीमा सोमबार संयुक्त आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न आवश्यक कागजपत्र सङ्कलन, ४२ जनाको मृगौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरालाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा २३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
शिविरमा सेवा लिन खार्मीवासीहरुको भिड लागेको थियो । हिँड्न सक्नेहरु आफै हिँडेर आएका थिए । हिँड्न नसक्नेहरु आफन्तको सहारामा लौरो टेक्दै एवं अशक्त अवस्थाका कतिपय सेवाग्राहीलाई उनीहरुका आफन्तले पिँठ्युमा बोकेर शिविरमा ल्याएर सेवा दिलाएका थिए । नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा पाउने सेवा घर नजिकै तथा वडाबाटै पाउदा उनिहरु खुशी भएका छन् । ‘आफु अपाङ्गता भएपनि अहिलेसम्म परिचयपत्र पाउन सकेको थिइन्, अहिले वडाबाटै (ख) वर्गको परिचयपत्र पाएँ’ खार्मीका ६५ वर्षीया कृतिमायाँ राईले भन्नुभयो । यस्तै खार्मीका ६५ वर्षकै गमसेर राई फोक्सोसम्बन्धि समस्या भएकाले उपचारका लागि अस्पताल गइरहनु पर्ने बाध्यता रहेको सुनाउनुहुन्छ । यस अघिसम्म उहाँसँग जेष्ठ नागरिक परिचयपत्र नहुँदा सवारी सधानसँगै अस्पतालमा छुट पाउनु भएको थिएन् । वडाबाटै जेष्ठ नागरिकको परिचयपत्र पाएपछि अब छुट पाउनेमा उहाँको विश्वास छ ।
शिविर सञ्चालनसँगै सेवा प्रदानका लागि नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, विषयगत शाखाका प्रमुख तथा सबै शाखाका प्रतिनिधिहरु खार्मी पुगेका थिए । खार्मीस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको शिविरमा प्राय सबै स्थानीयले सेवा लिएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले बताउनुभयो ।
नागरिकलाई नगरपालिकासम्म पुग्न असहज हुने भएकाले, गाउँमै पुगेर सेवा दिनेगरी घुम्ति शिविर आयोजना गरिएको नगर प्रमुख भट्टराईले बताउनुभयो । ‘नगरपालिकासम्म आउन टाढाका नागरिकलाई दुःख छ, त्यसैले स्थानीय सरकारको अनुभूति दिलाउन नागरिकहरुको घर आगनमै पुगेर सेवा दिन हामी लागि परेका छौँ ।’ भट्टराईले भन्नुभयो, ‘जसरी अहिले वडा नम्बर ११ खार्मीमा सेवा दिएका छौँ, त्यसैगरी सबै वडासम्म हामी पुग्छौँ ।’
शिविरमा नगरपालिकाको विभिन्न सेवासँगै जिल्ला प्रशासनबाट पाउने नागरिकता सम्बन्धि सेवा पनि उपलब्ध गराइएको छ । हालसम्म नागरिकता बनाउन छुटेका अपाङ्गता भएका ब्यक्ति, दीर्घरोगि तथा जेष्ठ नागरिकहरुको नयाँ नागरिकता बनाउन र सच्यानको लागि आवश्यक कागजपत्रसमेत संकलन गरेर जिल्ला प्राशासन ल्याउने काम भएको छ । केही दिनभित्रमा नागरिकता बनाएर पुनः वडामै लगेर वितरण गरिने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो ।

