Friday, April 17News That Matters

विद्यार्थी नहुँदा कक्षा कोठा खाली

विद्यार्थी नहुँदा कक्षा कोठा खाली रहेको खोटाङको भीमकन्या प्राथमिक विद्यालय ।

राजकुमार सरगम (भट्टराई)
खोटाङ, पुस १० । खोटाङको एक सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा एउटा कक्षा कोठा खाली रहेको पाइएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयको कक्षा दुई खाली रहेको पाइएको हो ।

कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भएका थिए । कक्षा एकमा दश जना र कक्षा तीनमा एक जना विद्यार्थी भर्ना भएका हुन् । कक्षा दुईमा भने कोही पनि विद्यार्थी भर्ना भएनन् । दश जना भर्ना भएपनि अहिले कक्षा एकमा ६ जना विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक लोकबहादुर कार्कीले बतानुभयो । भर्ना गरिए पनि अन्य विद्यार्थीको उमेर सानै रहेकाले उनिहरु विद्यालय नियमित आउन नसकेको उहाँको भनाइ छ । कक्षा दुई मा कोही पनि विद्यार्थी नभएपछि कक्षा तीनको एकजना र कक्षा एकको ६ जनालाई एउटै कोठामा राखेर पठनपाठन गराइरहेको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।

राजापानीको साविक वडा नम्बर एक थुम्की र त्यस वरिपरिका विद्यार्थीहरुलाई अन्य विद्यालय जान टाढा भएपछि अभिभावकहरुले वि.सं. २०६३ सालमा देउसी भैलो खेलेर थुम्कीमा विद्यालय स्थापना गरेका थिए । सुरुवाती दिनहरुमा विद्यार्थी अध्याधिक हुने गरेको यस विद्यालयमा अहिले कक्षा कोठा खाली हुन थालेको हो । उक्त गाउँबाट अत्याधिक मानिसहरु बसाइँसराइ गएकाले विद्यार्थी कम भएको प्रधानाध्यापक कार्कीको भनाइ छ । ‘यस गाउँमा क्षेत्री समुदायका मानिहरु प्राय बसाइँ गइसके, २/३ घर बाकी छन् ।’ कार्कीले भन्नुभयो, ‘उनिहरु पनि जाने भन्दैछन् । अहिले विद्यालयमा प्राय मगर समुदायका विद्यार्थीहरु मात्र छन् ।’

सुरुमा देउसी भैलोबाट रकम जम्मा गरेर निर्माण गरेको विद्यालयको भवन पनि जीर्णहुँदा पठनपाठनमा समस्या थियो । अहिले नगरपालिकाले प्रदान गरेको रु दश लाख बजेटबाट एक तले चार कोठे भवन निर्माण गरिएको छ । शिक्षकको सरुवा पश्चात करीब डेढ वर्ष कार्यालय सहयोगिले मात्र सञ्चालन गरिरहेको उक्त विद्यालयमा अहिले प्रधानाध्यापक कार्कीलाई नगरपालिकाले खटाएको हो । विद्यालय भवन निर्माणसँगै शिक्षकको व्यवस्था भएपनि विद्यार्थी नहुँदा कक्षा कोठा खाली हुन थालेको छ । उक्त विद्यालयलाई अन्य विद्यालयसँग समायोजन गर्ने अवस्था पनि नरहेको नगरपालिकाले जनाएको छ । अन्य विद्यालयमा पुग्न उक्त गाउँका बालबालिकालाई दुई देखि तीन घण्टासम्म लाग्ने भएकाले विद्यालय सञ्चालन गरिरहनु पर्ने बाध्यता रहेको नगर शिक्षा शाखा संयोजक पदम कार्कीले बताउनुभयो ।

यसैबिच, खोटाङका अन्य सामुदायिक विद्यालयको पीडा पनि सोही रहेको छ । विशेष गरी कक्षा तीन एवं कक्षा पाँचसम्म पठनपाठन हुने विद्यालयका कक्षा कोठाहरु खाली हुने अवस्थामा पुगेका छन् । रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको दुई वटा कक्षा कोठामा एक/एक जना मात्र विद्यार्थी छन् । कक्षा दुई र चारमा एक जना मात्र विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पुस्प राईले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित वसन्त पञ्चमि प्राथमिक विद्यालयमा तीन वटा कक्षामा एक÷एक जना मात्र विद्यार्थी अध्ययनरत छन् । कक्षा एक, कक्षा तीन र कक्षा चारमा एक जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् । यस्तै सोही नगरपालिकाको वडा नम्बर ६ नेर्पास्थित नेर्पा प्राविमा कक्षा एक, दुई, तीन र चार सबैमा एक÷एक जना मात्र विद्यार्थी छन् । चार वटै कक्षामा एक/एक जना मात्र विद्यार्थी भएपछि अहिले उनिहरुलाई एउटै कक्षामा राखेर पठनपाठन गरिएको प्रधानाध्यापक नवराज घिमिरेले बताउनुभयो ।

जिल्लाका अन्य प्राय सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या निरन्तर घटिरहेको छ । अभिभावकको निजी विद्यालय प्रतिको मोह, बसाइँसराइ र कम बच्चा जन्मनु सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको प्रमुख कारण हो । कतीपय सामुदायिक विद्यालयका शिक्षकहरुले नै आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउछन् । प्राय राजनीतिक कर्मी, कर्मचारी र आर्थिक अवस्था राम्रो हुनेका छोराछोरी निजी विद्यालयमा पठनपाठन गरेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएका अभिभावका छोराछोरी मात्र अहिले गाउँघरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् । गोरखापत्र