Friday, April 17News That Matters

सामुदायिक विद्यालयका ३५१ जना विद्यार्थीलाई झोला वितरण


खोटाङ, पुस १३ । रावा बेसी गाउँपालिका–६ हौँचुर वडा कार्यालयले सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला (स्कुल ब्याग) वितरण गरेको छ । वडा भित्रका सामुदायिक विद्यालयका कक्षा १–५ सम्मका सबै विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

पञ्चकन्या, जनएकता, शिंहदेवि, जनता र बछलादेवि आधारभूत विद्यालयसँगै शारदा माध्यमिक विद्यालयको कक्षा १–५ सम्मका ३ सय ५१ जना विद्यार्थीलाई झोला वितरण गरिएको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । सम्बन्धित विद्यालयमा पुगेर वडाका जनप्रतिनिधिहरुले झोला वितरण गरेका हुन् । अन्य विद्यालयमा यस अघिनै वितरण गरिएको थियो । शारदा माविका विद्यार्थीलाई शुक्रबार वितरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण तथा शैक्षिक सुधारमा टेवा पुर्‍याउने उद्श्यले झोला वितरण गरिएको कार्कीको भनाइ छ । विद्यार्थीलाई झोला वितरणको लागि वडाले चालु आर्थिक वर्ष २०८०/०८१ मा रु ३ लाख बजेट विनियोजन गरेको थियो ।