Friday, April 17News That Matters

युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा सडक स्तरोन्नती धमाधम

खोटाङ, पुस १४ । युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । ४ किलोमिटर लम्बाई रहेको उक्त सडक ६ मिटर फराकिलो बनाउनेगरी स्तरोन्नतीको काम भइरहेको हो ।

बाम्राङस्थित सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पूर्वलाहुरे तथा उनीहरुका परिवार गरी २७ जनाले रु १६ लाख ७७ हजार आर्थिक सहयोग गरेका छन् । हाल अन्य देशमा रहेका सामातुङ्गेहरुले पनि सहयोग रकम पठाउन थालेको श्रम समितिका संयोजक एबं पूर्ववडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । रकम संकलनसँगै श्रमदानको काम पनि अहिले धमाधम भइरहेको छ ।

जेसिभि र डोजरले गर्ने वाहेकका कामका लागि सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०÷१० दिन श्रमदान गर्ने नीति बनाइएको छ । जसअनुसार अहिले स्थानीयहरु घरबाट कुटो, कोदालो, झम्पल लगायतको आवश्यक सामाग्री ल्याएर सडकमा धमाधम श्रमदान गरिरहेका छन् । ‘आफ्नो गाउँ आफै बनाउँ भन्दै साथीहरु लागे, अनि म पनि यि घरबाटै सामाग्री मार्तोल ल्याएर नालिमा वाल लगाउने काम गरिरहेको छु ।’ श्रमदान गरिरहनु भएका हाकिमशेर राई भन्नुहुन्छ, । १० गतेबाट सुरु भएको श्रमदान अभियानमा एकजुट भएर आफुहरु लागिपरेको स्थानीय चेतन राई बताउनुहुन्छ ।

सडक स्तरोन्नतीको लागि पूर्वयुके लाहुरे कुमार राईको पहलमा युकेमा रकम संकलन गरिएको हो । हाल परदेशमा रहेपनि गाउँको विकासमा टेवा पु¥याउने उद्श्यले रकम जम्मा गरेर सहयोग गरिएको राईले बताउनुभयो । ‘हामी बाध्यताले परदेशमा भएपनि, गाउँको धेरै माया हुन्छ, तसर्थ हामीले पसिना बगाएर कमाएको केही रकम सहयोग गर्ने भनेर युकेमा बसोबास गर्दै आएका साथीहरुसँग सल्लाह गर्यौँ । सबैको सल्लाह अनुसार रकम संकलन गर्यौ र यहाँ ल्याएर हस्तान्त्रण गरेका छौँ’ राईले भन्नुभयो, ‘सोही अनुसार यतिबेला काम धमाधम भइरहेको छ । यहाँका स्थानीयहरु पनि खटिरहनु भएको छ ।’

२०७६ सालमा एक लाखमा ट्रयाक खोलिएको सडक लामो समयसम्म स्तारोन्नती हुन सकेको थिएन । सडक सानो तथा अफ्ठेरो भएकाले मोटरसाइकलसमेत दोहोरो हिड्न नसक्ने अवस्थाको रहेको श्रम समितिका संयोजक राईले बतानुभयो । हाल उक्त सडकलाई ६ मिटर लामो बनाउने काम भइरहेको छ । सडक फराकिलोसँगै, ड्रेन हाल्ने, हिलो हुने क्षेत्रमा कजवे राख्ने, आरसिसि ढलान गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । अहिले सडक फराकिलो बनाउन एउटा स्काभेटर र एउटा जेसिभि परिचालन गरिएको छ । नाली मिलाउने, आवश्यक ठाउँमा वाल निर्माण गर्ने, सोलिङ गर्ने लगायतको काम श्रमदानबाट भइरहेको छ ।

उक्त सडक स्तरोन्नतीको लागि नगरपालिकालेसमेत रु १० लाख प्रदान गर्ने घोषणा गरेको छ । यस्तै, बाम्राङ वडा कार्यालयबाट पनि रु २ लाख ५० हजार प्रदान गर्ने बताइएको छ । सबै निकायबाट प्रदान भएको रकम इन्धन खरिद गरेर जेसिभि र स्काभेटर चलाउने, आवश्यक उपकरण खरिद गर्ने व्यवस्था मिलाइएको संयोजक राईले बताउनुभयो । सडक स्तरोन्नतीको कामबाट बचेको रकमलाई जम्मा गरेर पुनः अन्य काममा खर्च गर्ने तयारी गरिएको छ ।

युकेवासी, नगरपालिका, वडा कार्यालय लगायतको आर्थिक सहयोग एवं स्थानीयको श्रमदानबाट हाल भइरहेको सडक स्तरोन्नतीको काम पुस १० गते शिलान्यास गरिएको थियो । युकेबाट आउनुभएका पूर्वयुके लाहुरे कुमार राईले सोही दिन नगर प्रमुख तीर्थराज भट्टराईलाई रु १४ लाख हस्तान्त्रण गर्नुभएको थियो । बाकी रहेको रु २ लाख ७७ हजार रकम शनिबार हस्तान्त्रण गर्नुभएको छ । सडक स्तरोन्नतीमा भइरहेको श्रमदान अभियानमा शनिबार सहभागिहुँदै नगर प्रमुख भट्टराईले नागरिकले सुरु गरेको यस्ता हरेक सकारात्मक काममा नगरपालिकाको सधै साथ रहने बताउनुभयो ।