विक्रम क्षेत्री
कविता
सूचना ! सूचना !! सूचना !!!
गाउँ मरेको सूचना !
जस्ले आफ्नो छातीमा राखेर सारा बालकहरूलाइ वयस्क बनायो
उभिन सक्ने, हिड्न अनि दौडिन सक्ने बनायो ।
ती सबैसबैले साथ छोडेर कोही सहर पसे, कोही परदेशमै हराए !
उ आज मरेको छ ।
जस्ले आमा बनेर सबैलाई जन्म दियो अनि हुर्कायो पनि, आफ्नै वक्षस्थलमा राखेर ।
प्रत्येक शारदीय मौसममा मखमली र सयपत्री फुलाएर परदेशीयका तिमीहरूलाई उमंगको मुस्कानसहित स्वागत गर्ने गाउँ मरेको छ ।
जब बर्षौँ भत्किएका छेकु र दम्कु खोलाका साँघुहरू अलपत्र परिरहे ।
जब तावा खोलाबाट रूपाकोट धाउने खुट्किला गोरेटोहरू घारि र लेउले ढाकिए ।
जब हजारौंको भिडमा बसेर प्रकृति प्रेमको स्नेहले मात्तिदै सोईढोले सोईको भाकामा उधौली र उभौलीमा उफ्रने तन्नेरिहरू परदेशमै हराए कि त सहरिया भए,
तब गाउँ मर्यो ।
जब सुन फल्ने टारी र गैरिखेतका फाँटहरू काँस र सिरूले छोपिए ।
जब बेलाबेलाको गोडमेल र छाँटकाटपछी ग्रीष्म र बसन्तको हर्ष उल्लासमा रमाउने रानी बनले आफ्नो स्याहार सुसार र हेरचाह गुमायो,
तब गाउँ मर्यो ।
जब आशिर्वाद लिन गाउँघर आउनुपर्ने चलनलाई
आशिर्वाद दिन सहर जानुपर्ने चलनले विस्थापित गर्यो,
जब तिमी तरुण र तन्नेरीहरूका उर्जा र बौद्धिकताको लगानी उतै कतै सहर र परदेशतिर मात्र हुन थाल्यो ,
तब गाउँ मर्यो ।
जब उस्को आफ्नो पहिचान, सभ्यता र चिनारीमा लागेका खियाहरू,
सपनाको आकाशमा मडारिएका काला धब्बाहरू,
विरहको प्यासमा परेका खडेरीहरू सबैको नजर अन्दाजमा परिरहे,
तब गाउँ मर्यो ।
अब तिमी पाखुरी र बुद्धि भएकाहरू यतै फर्किएर हुन्छ, मानबताविहीन संस्कार र खोक्रो राष्ट्रवादको कुम्लो बोकेर ।
सबैसबै मलामी बनेर आउनु, यो गाउँलाई घाटमा लगेर चितामा जलाइदिनु चिहान र शालिक बनाउनु अनि तिमीहरूको त्यो आधुनिक,
तिमीहरूको त्यो निर्वश्त्र सहर ।
यहाँपनि रोप्नु अनि
नाच्दै रमाउनु मानौँ कि
धर्तीका पागलहरू,
सभ्यता विहिनहरू,
धर्तीका बोझहरू,
आमाको श्राप पाएकाहरू !
विक्रम क्षेत्री
उपसचिव –अनेरास्ववियु जिल्ला कमिटी खोटाङ