
राजकुमार सरगम (भट्टराई)
खोटाङ, पुस २१ । काम गरेको पैसा ठेकेदारले नदिएर दैनिक ज्यालादारी मजदुरहरु पीडित भएको कुरा त हामीले सुनिरहेका हुन्छौँ । तर खोटाङमा सडक ढलानको काममा ठेकेदारले नगरपालिकाका मेयरलाई नै पीडित बनाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हस्पिटल चोक–आहाले सडक खण्ड अन्तरगत जिल्ला अदालतदेखि हाडडाँडासम्म केही समय अघि सडक ढलान गरिएको छ । अदालबाट बरगाँछिसम्म ढलान गरेपछि रकम अभाव कारण देखाउदै निर्माण कम्पनी पन्छिएको थियो । ढलानको काम रोकिने भएपछि मेयर तीर्थराज भट्टराई जमानी बसेर आवश्यक सामान पसलबाट दिलाइदिएको अहिले खुल्न आएको छ ।
दश दिनभित्र पैसा तिर्ने सर्तमा ठेकेदार शिव चौलागाइँले बिबेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रा.लि दिक्तेल शाखाबाट रु १७ लाख ५० हजारको सामान लगेको बताइएको छ । सुरुमा ठेकेदारको विश्वास नभएको भन्दै पसलबाट सामान दिन नमानेपछि मेयर भट्टराईले आफ्नो ब्यक्तिगत बैंक खाताको चेक काटेर पसलमा छाडेको पाइएको छ । मेयरको चेक राखेर दश दिनका लागि सामान दिएपनि हाल ६ महिना बितिसक्दासमेत ठेकेदार चौलागाइँले पैसा नतिरेपछि पसलले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ ।
भुक्तानीको लागि सहयोग गरिदिन भन्दै पुस २० गते पसलले प्रशासनलाई निवेदननै पठाएको पाइएको छ । ‘मेयर भट्टराईको जमानतबाट खोटाङ हलेसी कन्स्ट्रसन प्रा.लिको नाममा बिल राखेर रु १५ लाख र समितिको नाममा रु २ लाख ५० हजार गरी सडक निर्माणको लागि जम्मा रु १७ लाख ५० हजार बराबरको सामान २०८० जेठ २६ गते लगिएको थियो । दश दिन भित्र सबै रकम दिने भनिएको थियो । हालसम्म रु ८ लाख रकम मात्र ठेकेदारले पसलमा भुक्तानी गरेको छ । पटक–पटक जानकारी गराउदा पनि नदिएकाले बाकी रकम अबको एक हप्ता भित्र नदिए कानुन बमोजिम अगाडि बढ्ने भन्दै भुक्तानीको लागि सहयोग गरिदिन निवेदन पेश गर्दछौँ ।’ निवेदनमार्फत प्रशासनलाई भनिएको छ ।
ठेक्का लागेको लामो समयसम्म हस्पिटल चोक–आहाले सडक अलपत्र बनेको थियो । उक्त सडकको काम पुरा गराउने क्रममा ठेकेदारले रकम अभाव भएको भन्दै पन्छिन खोजेपछि सहयोग गरिएको तर अहिले आफैलाई अफठ्यारो पारेको मेयर भट्टराईले बताउनुभयो । ‘बर्खाको समय सुरु भइसकेको थियो, सडक हिलाम्मेहुँदा स्थानीयहरु रोपाइँ गर्न भन्दै तम्सिएका थिए । त्यसबेला निर्माण कम्पनीलाई चाडो काम गर्न अनुरोध गर्दा आवश्यक सामान खरिद गर्न रकम अभाव देखायो ।’ मेयर भट्टराईले भन्नुभयो, ‘त्यसपछि मैले मेरो चेक काटेर पसलमा दिएपछि सामान ल्याएर बजार क्षेत्र ढलान सम्पन्न गरियो । काम सकेर कार्यालयबाट निर्माण कम्पनीले असार २४ गते भुक्तानी पनि लियो, तर सामानको पैसा अहिलेसम्म नतिर्दा मलाई अफठ्यारो परेको छ । पसलमा ठेकेदारले दिनु पर्ने जती रकम मेरो खातामा नहुँदा त्यो चेक साटिने कुरा पनि भएन ।’
सडक ढलानको लागि निर्माण कम्पनीलाई सहयोग गरेका मेयरलाई उल्टै चेक बाउन्सको मुद्दा लाग्ने संभावना देखिएको छ । विकासको लागि आफै बन्धकी बस्ने मेयर भट्टराई यदि चेक बाउन्सको मुद्दा लागे जेल जानु पर्ने प्रष्ट देखिन्छ ।
उक्त सडक ढलानको काम गरेका ठेकेदार शिव चौलागाइँले बेइमानी गरेको मेयर भट्टराईको भनाइ छ । ‘ठेक्का लागेर अलपत्र भएका सडकहरु हाम्रो पालिका भित्र धेरै छन् । काम चाडो गराउन दबाब दिनको लागि हामीले निर्माण कम्पनीको मेसिनहरुमा ताला लगाउनेसम्म काम गर्यौ । समयमै काम सक्न अहिले पनि दबाब दिइरहेका छौँ ।’ मेयर भट्टराईले भन्नुभयो, ‘नगरको विकासका लागि आवश्यक सहयोग गर्दा निर्माण कम्पनीको बेइमानीले समस्या बनाएको छ ।’
ठेकेदार चौलागाइँलाई रुपाकोट खबरले पनि पटक पटक सम्पर्क गर्दा फोन उठेन । एसएमएस गर्दा पनि उहाँको कुनै प्रतिक्रिया आएको छैन् । पसलको सामान भुक्तानीको पहल गरिदिन निवेदन आएकाले केही दिनमा यस विषय सम्बन्धि छलफल गरिने प्रमुख जिल्ला अधिकारी (सिडियो) सन्त बहादुर सुनारले बताउनुभयो । ‘हामीसम्म निवेदन आइपुगेको छ, अब यस विषयमा जोडिएका सबैलाई बोलाएर केही दिन भित्रै हामी छलफल गर्ने छौँ ।’ सिडियो सुनारले भन्नुभयो ।
चेक बाउन्सको मुद्दा प्रहरीमा आए कानुन अनुसार अगाडि बढिने जिल्ला प्रहरी कार्यालयका प्रमुख, (डिएसपी) पुरुषोत्तत खड्काले बताउनुभयो । ‘अहिलेसम्म हाम्रोमा उजुरी आएको छैन्, यदि आएछ भने हामी सबै पक्षलाई छलफलमा ल्याउछौँ, सहमती गराउने कोसिस गर्छौँ । चेक बाउन्सको हद म्याद भन्ने हुन्छ ।’ डिएसपी खड्काले भन्नुभयो, ‘यदि सहमती नभए, हद म्याद कटेको भएमा कानुन अनुसार अघि बढ्छौँ ।’
