Friday, April 17News That Matters

खोटाङमा डेढ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु

खोटाङ, पुस २२ । डेढ लाख पुरस्कार राशिको ‘नेर्पा भुलभुले अन्तरवडा स्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सुरु भएको छ । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १८ वटा वडाका खेलाडी सहभागी छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको संसारीडाँडास्थित क्लबको आफ्नै खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगितामा आयोजक ‘ए’ टिमले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई ट्राइब्रेकरमा ६–५ ले हराउँदै आयोजक नेर्पा ‘ए’ले विजयी सुरुवात गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । आफ्नो टिमलाई जिताउन महत्वपुर्ण भुमिका निभाएका नेर्पाका गोल रक्षक इन्देश गुरुङ म्यान अफ दि म्याच चुनिदै नगद रु एक हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको दोस्रो खेल भोलि (सोमबार) बिहान दश बजेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीबीच हुने आयोजकले जनाएको छ । पहिलो चरणमा हरेक दिन तीन खेल हुने प्रतियोगिताको तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ र सोही नगरपालिकाको वडा नं. ९ निर्मलीडाँडाबीच मध्यान्न १२ ः ३० बजे हुने आयोजक क्लबका अध्यक्ष शरद राईले जानकारी दिएका छन् ।

प्रत्येक वडाले बाहिरका तीन जना खेलाडी राख्न पाउने नियम अनुसार सुरु भएको यस प्रतियोगिताको विजेतालाई नगद रु एक लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उपविजेता टिमले नगद रु ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमीफाइनलिस्ट दुईवटा टिमले नगद रु २५÷२५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विद्यागत पुरस्कार अन्तरगत सर्व उत्कृष्ट खेलाडीले नगद रु पाँच हजार, बेस्ट कोच (उत्कृष्ट प्रशिक्षक)ले नगद रु दुई हजार ५००, सर्वाधिक गोलकर्ताले नगद रु चार हजार, बेस्ट डिफेन्डरले नगद रु दुई हजार ५००, बेस्ट स्ट्राईकरले नगद रु दुई हजार ५००, बेस्ट मिडफिल्डरले नगद रु दुई हजार ५००, उदयमान खेलाडीले नगद रु दुई हजार ५०० र उत्कृष्ट गोल रक्षकले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राईले बताए ।

प्रतियोगिताको फाइनल खेल पुस–२८ गते हुने छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले संयुक्तरुपमा उद्घाटन गरेको यस प्रतियोगितोको समापन प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले गर्ने बताइएको छ ।