Saturday, July 27News That Matters

ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा मेयरको उजुरी

खोटाङ, पुस २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा उजुरी दिनुभएको छ । मेयर जमानी बसेर सडक ढलानको लागि खरिद गरिएको सामानको रकम नतिरेपछि ठेकेदारलाई पक्राउ गर्न भट्टराईले सोमबार गृह–मन्त्रालयमा उजुरी दिनुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हस्पिटल चोक–आहाले सडक खण्ड कालोपत्रेको जिम्मा लिएको याक्थुङहाङ/साप/सिरुवा जेभीले लामो समयसम्म सडक अलपत्र छाडेको थियो । रकम अभावको कारण देखाउदै निर्माण कम्पनी पन्छिएको थियो । विकासको लागि भन्दै मेयर भट्टराईले पसलमा जमानी बसेर सामान खरिद गरेपछि दिक्तेल बजार भित्रको सडक ढलान गरिएको थियो ।

ठेकेदार शिव चौंलागाईले १० दिनमा रकम दिने भन्दै असार ९ गते मर्केन्डाइज एण्ड कन्सल्ट प्रा.लिबाट रु १७ लाख ५० हजारको सामान लगेको बताइएको छ । पसलमा मेयर भट्टराईको १५ लाखको चेक राखिएको थियो । ठेकेदारलाई पसलमा विश्वास नगरेपछि मेयर भट्टराईले आफ्नो चेक काटेर दिएको उहाँको भनाइ छ । तर १० दिनमा भुक्तानी गर्ने भनेर लगेको सामानको पैसा ६ महिनाहुँदा पनि नदिएपछि पसलले जिल्ला प्रशासनलाई गुहारेको छ । सामानको रकम भुक्तानी पाउ भन्दै पसलले निर्माण कम्पनी र मेयर भट्टराई विरुद्ध उजुरी दिएको छ ।

विकासको लागि सहयोग गर्दा ठेकेदारले उल्टै आफुलाई अफठ्यारो पारेको भन्दै मेयर भट्टराई गृह मन्त्रालयमा उजुरी दिएको बताउनुहुन्छ । ठेकेदारलाई पक्राउ गरेर आवश्यक कारबाही माग गर्दै प्रमुख प्रशासकी अधिकृत दिनेश कुमार राईले पनि मन्त्रालयमा पत्र पठाउनुभएको छ । मेयर भट्टराई भने स्वयं मन्त्रालयमा पुगेर उजुरी दिनुभएको हो ।

ब्यक्तिगत स्वार्थमा नभइ नागरिकको हितमा काम गर्दा ठेकेदारले आफुलाई समस्या बनाएकाले पक्राउ गरी कारबाहीको माग गरिएको छ । ठेक्का लागेको लामो समयसम्म हस्पिटल चोक–आहाले सडक अलपत्र बनेको थियो । उक्त सडकको काम पुरा गराउने क्रममा ठेकेदारले रकम अभाव भएको भन्दै पन्छिन खोजेपछि सहयोग गरिएको तर अहिले आफैलाई अफठ्यारो पारेको मेयर भट्टराईको भनाइ छ । ‘बर्खाको समय सुरु भइसकेको थियो, सडक हिलाम्मेहुँदा स्थानीयहरु रोपाइँ गर्न भन्दै तम्सिएका थिए । त्यसबेला निर्माण कम्पनीलाई चाडो काम गर्न अनुरोध गर्दा आवश्यक सामान खरिद गर्न रकम अभाव देखायो ।’ मेयर भट्टराईले भन्नुभयो, ‘त्यसपछि मैले मेरो चेक काटेर पसलमा दिएपछि सामान ल्याएर बजार क्षेत्र ढलान सम्पन्न गरियो । काम सकेर कार्यालयबाट निर्माण कम्पनीले असार २४ गते भुक्तानी पनि लियो, तर सामानको पैसा अहिलेसम्म नतिर्दा मलाई अफठ्यारो परेको छ । पसलमा ठेकेदारले दिनु पर्ने जती रकम मेरो खातामा नहुँदा त्यो चेक साटिने कुरा पनि भएन ।’

सडक ढलानको लागि निर्माण कम्पनीलाई सहयोग गरेका मेयरलाई उल्टै चेक बाउन्सको मुद्दा लाग्ने संभावना देखिएको छ । तसर्थ उक्त ठेकेदारलाई तत्काल कारबाही गर्न भन्दै मन्त्रालयमा उजुरी दिएको मेयर भट्टराईको भनाइ छ ।

पसलबाट रु १७ लाख ५० हजारको सामान लगेको निर्माण कम्पनीले हालसम्म ८ लाख मात्र भुक्तानी गरेको बताइएको छ । अन्य रकम तत्काल भुक्तानी हुने व्यवस्था मिलाइदिन भन्दै प्रशासनमा निवेदन पुगेको छ । यस विषयमा केही दिन भित्र सम्बन्धित सबैसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी (सिडियो) सन्त बहादुर सुनारले बताउनुभयो ।

दिक्तेल–आहाले सडक डिबिएसटी कालोपत्रे गर्न याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७५ साल असोज १ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार ०७६ चैत ७ गतेभित्र सक्नु पर्ने उल्लेख छ । तर सडकको काम अहिलेसम्म पुरा भएको छैन् ।

यो पनि पढुनुहोस्

ठेकेदारबाट मेयरनै ठगिए