Friday, April 17News That Matters

खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे


खोटाङ, पुस २५ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो ।

मंगलबार राती करीब ८ः१५ को समयमा सुरु भएको आगो राती १२ बजे मात्र नियन्त्रणमा आएको थियो । गोठमा परालको कुनिउँ भएकाले आगो नियन्त्रण गर्न समस्या भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको २ तले घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको उहाँको भनाइ छ ।

घरसँगै अन्नपात, भाँडाकुडा, लत्ताकपडा, नगद पैसा सबै जलेर नष्ट भएको छ । गोठमा राखिएको ४५ वटा बाख्रा पनि आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भएका छन् । भैँसीको अर्को पाडोे जलेर मरेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

आगलागिबाट चौलागाइँको करीब रु २२ लाख जतिको क्षति भएको प्रहरीको भनाइ छ । आगो कोही ब्यक्तिले लगाइदिएको प्रहरी र स्थानीयको अनुमान छ । आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरकेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

घर जलेर नष्ट भएपछि चौलागाइँको परिवार छिमेकीको घरमा बसिरहेको खोटाङ बजारका वडाध्यक्ष शिव प्रसाद फुँयलले बताउनुभयो । ‘अहिले उहाँहरु छिमेकीको घरमा बसिरहनु भएको छ, घरमा एक जना बच्चा मात्र भएको बेला अर्कैले आगो लगाइदिएछ, वुबाआमा बेँसी खेतबाट काम गरेर घर आइनपुग्दै आगो लगाइएको रहेछ ।’ फुँयलले भन्नुभयो, ‘गाउँकै सबै भन्दा राम्रो कृषकको हालसम्मको मिहिनेत जलेर नष्ट भएको छ, उहाँको करीब डेढ सय मुरी त अन्न मात्रै जलेको हुनुपर्छ, नगद २ लाख पनि जलेको छ । आगो नियन्त्रणको लागि दमकल पनि लगियो तर सकिएन, त्यो समय गाउँमा प्रायः छोरा मान्छेहरु पनि सबै एउटा सिँचाइ योजनाका लागि गएका रहेछन् ।’

चौलागाइँको परिवारलाई तत्काल र दीर्घकालनि व्यवस्थापन कसरी गर्ने भनेर स्थानीय सरकार छलफल गरिरहेको वडाध्यक्ष फुँयलको भनाइ छ । ‘तत्काल घर बनाउन वनबाट काठ निःशूल्क दिने, गाउँबाट सबैले घर बनाउनसँगै आर्थिक सहयोग गर्ने छलफल भएको छ । यता पालिकाबाट पनि के कसरी गर्न सकिन्छ हामी छलफल गर्दै छौँ ।’ उहाँले भन्नुभयो, ‘तत्काल कसरी उहाँहरुको व्यवस्थापन गर्ने र दीर्घकालिन कसरी गर्ने भनेर हामी लाग्छौँ ।’