Friday, April 17News That Matters

फटिक कुमार श्रेष्ठको नेतृत्वमा रावा क्याम्पसको नयाँ समिती चयन


खोटाङ, पुस २८ । खोटाङको रावा बेसी गाउँपालिका-२ खार्पास्थित रावा क्याम्पसको नयाँ संचालक समिती गठन गरिएको छ । शनिबार भएको क्याम्पसको तेस्रो सभाले फटिक कुमार श्रेष्ठको नेतृत्वमा नयाँ समिती गठन गरेको हो ।

रावा बेसी गाउँपालिकाका अध्यक्षसमेत रहनु भएका श्रेष्ठलाई सभाले सर्वसम्मत क्याम्पस संचालन समितिको अध्यक्षमा चयन गरेको छ । समितीको उपाध्यक्षमा राजन मगर चयन हुनु भएको क्याम्पस प्रमुख दिपक पोखरेलले जानकारी दिनुभएको हो । यस्तै, सदस्यहरुमा भुपराज पाेखरेल, लिलानारायण श्रेष्ठ, भुमिदक्त दाहाल, पुण्य कुमारी मगर, सिता कट्वाल, यज्ञनारायण श्रेष्ठ, गिता देवी पाेखरेल र सदस्य सचिवमा क्याम्पस प्रमुख पोखरेल रहनु भएको छ । क्याम्पसको विधान अनुसार यो समितीको कार्यकाल तीन वर्षको रहनेछ ।

सम्पन्न तेस्रो सभामा खोटाङका संघीय सांसद रामकुमार राई (पासाङ), प्रदेश सभा ´क` का सांसद पाँचकर्ण राई लगायतको उपस्थिति रहेको थियो। स्थानीय सरकारलाई क्याम्पसप्रती थप जिम्मेवारी बनाउनको लागि पालिका अध्यक्ष श्रेष्ठकै नेतृत्वमा संचालन समिती गठन गर्ने सबैको निर्णय भएको क्याम्पस प्रमुख पोखरेलको भनाइ छ । यश अघि पनि निवर्तमान पालिका अध्यक्ष लिलानाथ निरौलाको नेतृत्वमा संचालन समिती थियो ।

विधान अनुसार शनिबार चयन भएको समितीले थप चार जना सदस्यलाई मनोनयन गर्नेछन् । जिल्लाका संघीय र प्रदेश सांसद, पालिका अध्यक्ष र उपाध्यक्ष, सबै वडाका वडाध्यक्षहरु, जग्गादाता, चन्दादाता लगायतका ब्यक्ति क्याम्पस सभा सदस्य रहने व्यवस्था छ ।

पछिल्लो समय क्याम्पसहरुमा विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ । रावा क्याम्पसमा स्नातक तहको शिक्षाशास्त्र संकायतर्फ अंग्रेजी, नेपाली, जनसंख्या र अर्थशास्त्र विषयहरु पढाई हुँदै आएको छ । हाल क्याम्पसमा करिब १ सय ४० जना विद्यार्थी अध्यनरत रहेको प्रमुख पोखरेलले बताउनुभयो ।