Saturday, June 13News That Matters

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम रावा बेसीमा सम्झौता

खोटाङ, माघ ५ । खोटाङको रावा बेसी गाउँलिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवं अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनकालागि गाउँपालिका र करुणा फाउण्डेसन संस्थाबीच शुक्रबार सम्झौता भएको हो ।

कोशी प्रदेश सरकार, स्थानीय सरकार र फाउण्डेसनको संयुक्त लगानिमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । शुक्रबार गाउँपालिकाको कार्यालयमा भएको सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष फटिक कुमार श्रेष्ठ र फाउण्डेसनको तर्फतबाट व्यवस्थापक सन्तोष धिमिरेले हस्ताक्षर गर्नुभएको छ । रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी र फाउण्डेसनका वरिष्ठ अधिकृत गिता त्वानावासु, विक्रम बस्नेत र पालिका संयोजक राकेश खड्का रहनुभएको छ ।

कार्यक्रम सम्झौतासँगै कार्यक्रम सम्बन्धि अभिमुखीकरणसमेत गरिएको छ । अभिमुखीकरणमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । अघिल्लो वर्षहरुमा प्रदेशका केही जिल्लामा यो कार्यक्रम सञ्चालन भइसकेको छ । चालू आर्थिक वर्षदेखि प्रदेशका चार जिल्ला खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका ३४ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

हालसम्म खोटाङका ९ वटा स्थानीय तहमा कार्यक्रम सम्झौता भएको छ । हलेसी तुवाचुङ नगरपालिकाबाट सुरु भएको कार्यक्रम सम्झौता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, बराहपोखरी, खोटेहाङ, जन्तेढुंगा, दिप्रुङ चुइचुम्मा, साकेला, केपिलासगढी र रावा बेसी गाउँपालिकामा सम्झौता सकिएको छ । आइतबार ऐसेलुखर्क गाउँपालिकामा सम्झौता गर्ने कार्यक्रम रहेको करुणा फाउण्डेसनका व्यवस्थापक घिमिरेले बताउनुभयो ।

यस कार्यक्रम अनुसार अपाङ्गता भएका ब्यक्तिहरुको लागि स्वास्थ्य उपचार र सहायक सामाग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामजिकीकरण, सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।

अब पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई परामर्श तथा सेवा प्रवाहमा सहजिकरण गर्नका लागि मन्त्रलायले जारी गरेको सहजकर्ता छनोट सम्बन्धि मार्गदर्शन, २०७९ बमोजिम प्रक्रिया पुरा गरी अपाङ्गता सहायता सहजकर्ता नियुक्ति गर्नेछ । नियुक्त भएका सहजर्तालाई आवश्यक तालिम प्रदान गरेर पालिका भित्र भएका अपाङ्गताहरुको तथ्यांक संलकनदेखि उनिहरुको अवस्था बुझ्ने काम हुनेछ । त्यसपश्चात अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था हेरेर उनिहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा प्रदान गरिनेछ । जीविकोपार्जन, सामजिकीकरण लगायत सुधार गरेर उनिहरुलाई सशक्त बनाइने घिमिरेले बताउनुभयो ।

‘अपाङ्गता भएका बच्चा जन्मन नदिनकालागि बच्चा जन्माउन इच्छुक दम्पतीलाई फोलि एसिड खान लगाइनेछ । बच्चा जन्मेपछि २९ दिन भित्र स्वास्थ्य परिक्षण गरिनेछ । १० वर्ष मुनीका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनिहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने छ ।’ तीन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमबाट नगरपालिकाका ३२ प्रतिशत नागरिक लाभाम्वित हुने छन् ।

आर्थिक वर्ष २०७६/०७७ बाट कोशी प्रदेशमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको हो ।