
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा वडा कार्यालय र आमा समुह मिलेर “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरेका छन् । आमा र शिशुको स्वास्थ्यको लागि “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
“सुत्केरी भेटघाट” कार्यक्रम अन्तरगत वडा भित्र सुत्केरी भएका महिलाहरुलाई भेट्न आमा समुह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविकाहरु जाने गरेका छन् । कुखुराको भाले, अण्डा, गाउँ घरमा उत्पादन भएका चामल, दाल, सागपात, गुन्द्रुक, फलफुल लगायतका पोषिलो परिकार लिएर सुत्केरी भेट्न जाने गरिएको छ । कुखुराको भाले र एक क्यारेट अण्डा वडा कार्यालयकोतर्फतबाट र अन्य खाने कुरा आमा समुहहरुले संकलन गरेर सुत्केरी भेट्न जाने गरिएको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो ।
सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको लागि यो कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । ‘आमा र बच्चाको स्वास्थ्यको लागि हामीले यो कार्यक्रम सुरु गरेका हौँ । भेट्न जादा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्नुहुन्छ, स्वस्थ्यको विषयमा सल्लाह सुझाव दिनुहुन्छ । केही पोषिलो खानेकुराहरु भेट्न जादा लगिएको हुन्छ ।’ अध्यक्ष राईले भन्नुभयो, ‘जसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा आउन सक्ने धेरै समस्याहरु आउदैन भन्नेमा हामी विश्वस्त छौँ ।’
नियमित गर्भ जाँच र वर्थिङ सेन्टरमा बच्चा जन्माउन अनिवार्यसमेत गरिएको वडाध्यक्ष राईले बताउनुभयो । ‘सुत्केरी भेटघाट कार्यक्रमको लागि स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नु पर्ने र वर्थिङ सेन्टरमा मात्र बच्चा जन्माउन भनेका छौँ । ।’ अध्यक्ष राईले भन्नुभयो, ‘अहिलेसम्म सबैले सोही अनुसार गरिरहनु भएको पाइन्छ । जसले गर्दा यो कार्यक्रमले आमा र शिशु मृत्युदरलाईसमेत शून्यमा झार्ने छ ।’
चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म धितुङ वडामा १५ जना महिला सुत्केरी भएका छन् । उनिहरु सबैको घरमा “सुत्केरी भेटघाट” कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष राईले बताउनुभयो ।
“सुत्केरी भेटघाट” कार्यक्रम जिल्लाका अन्य केही ठाउँहरुमा पनि सञ्चालन भइरहेको छ ।
