
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा चारबोटेस्थित डिकुवा आधारभूत विद्यालयले नगद पाँच लाख पाँच रुपैयाँ र एक रोपनी जग्गा निःशूल्क प्राप्त गरेको छ । डिकुवा घर भइ हाल बेलायत बस्दै आउनुभएका बाबुराम राईले विद्यालयलाई नगद र जग्गा प्रदान गर्नुभएको हो ।
राईले विद्यालयमै उपस्थित भएर नगद रकम हस्तान्त्रण गर्नुभएको प्रधानाध्यापक प्रमेश कुमार राईले जानकारी दिनुभयो । यस्तै, राईका वुबा बल्लशेर राई र आमा कमलादेवी राईको स्मारक, सरस्वती देवीसहितको विद्यालयमा निर्माण गर्नुभएको प्रधानाध्यापक राईले बताउनुभयो । स्व. बल्लशेर राईले उक्त विद्यालय स्थापना गर्नुभएको थियो । जसकारण वुबा र आमाको नाममा विद्यालयलाई जग्गा र नगद प्रदान गरिएको राईको परिवारले जनाएको छ ।
राईले प्रदान गर्नुभएको रकम विद्यालयको कोषमा राखिएको छ । उक्त रकम लगानि गरेर प्राप्त ब्याजबाट निजी शिक्षकलाई तलब प्रदान गर्ने प्रधानाध्यापक राईको भनाइ छ । ‘हामीसँग प्रयाप्त दरवन्दी नहुँदा यस अघि विद्यालयमा २ जना निजी शिक्षक थिए । तर तलब प्रदान गर्न नसकेपछि शिक्षकहरु हटाइएको थियो । हाल बाबुराम राईले नगद पाँच लाख प्रदान गरेसँगै पुनः एक जना निजी शिक्षक नियुक्ती गर्छौँ ।’ प्रधानाध्यापक राईले भन्नुभयो, ‘उहाँले प्रदान गर्नुभएको रकम मास्दैनौँ, लगानि गरेर ब्याजबाट शिक्षकलाई तलब दिन्छौँ ।’
कक्षा ८ सम्म सञ्चालन भइरहेको डिकुवा आधारभूत विद्यालयमा अहिले ८२ जना विद्यार्थी अध्ययनरत छन् ।
