Friday, April 17News That Matters

गाईघाट–दिक्तेल सडक निर्माण सुरु भएको २९ वर्षमा पनि कालोपत्रे हुन सकेन

सगरमाथा लोकमार्ग अन्तरगत पर्ने गाईघाट–दिक्तेल सडकको खोटाङतर्फको सडक ।

राजकुमार भट्टराई (सरगम)
खोटाङ, माघ ९ । सगरमाथा लोकमार्ग निर्माण सुरु भएको तीन दशक पुग्नै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिल्यान्यास गरेर सगरमाथा लोकमार्ग निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भएको तीन दशक पुग्न लाग्दा ३० किलोमिटर पनि सडक कालोपत्रे हुन नसकेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख संजिवकुमार मिश्रले बताउनुभयो । ठेकेदार कम्पनीका कारण हालसम्म सडक कालोपत्रे हुन नसकेको उहाँको भनाइ छ ।

लोकमार्ग अन्तरगत गाईघाट देखि दिक्तेलसम्मको सडक कालोपत्रेको लागि विभिन्न चरणमा ठेक्का लागेको थियो । तर निर्माण कम्पनीको लापारबाहिको कारण सडक अहिले अलपत्र अवस्थामा छ । सम्झौता अनुसार काम सम्पन्न भएको भए हाल सडक कालोपत्रे भएर चिल्लो हुने थियो । तर सडकमा अहिले बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुमाल्लेहुँदा सवारी साधन आवतजावत गर्न समस्या भइरहेको छ ।

गाईघाट–दिक्तेल खण्ड अन्तरगत खोटाङ भित्र पर्ने महुरे–फोक्सिङटार(४९) किलोमिटर सडक दुई खण्डमा ठेक्का लागेको थियो । सम्झौता सकिएको ३ वर्षसम्ममा पनि निर्माण कम्पनीले काम नसकेपछि अहिले ठेक्का तोडेर पुनः टेण्डर खोल्न प्रक्रिया सुरु भएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

दुई खण्डमध्ये सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले लिएको थियो । रु ५५ करोड ८७ लाखमा २०७७ साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते ठेक्का सम्झौता भएको थियो । म्याद सकिएपनि भौतिक प्रगती ५० प्रतिशत पनि नदेखिएपछि सम्झौता ०७९ पुसमै तोडिएको थियो । तर, ठेक्का तोड्ने निर्णयविरुद्ध निर्माण कम्पनी उच्च अदालत पाटन गएर पहिलो सुनुवाईमा अन्तरिम आदेश दिएपछि ठेक्का रद्द प्रक्रिया रोकियो ।

केही महिनाअघि अदालतको पछिल्लो फैसला अनुसार ठेकेदारको रिट खारेज गरेपछि ठेक्का तोड्ने निर्णय सदर भएर हाल पुनः टेण्डर खोल्न प्रक्रिया सुरु गरिएको कार्यालयका प्रमुख संजिवकुमार मिश्रले बताउनुभयो । कार्यालयले ठेक्का सम्झौता तोड्ने निर्णय गरेपछि अदालतमा रिट हालेर निर्माण कम्पनीले फोक्सिन्टार पुल नजिक सडकको केही भाग कालोपत्रेको काम पनि थालेको थियो । तर हाल सडक अलपत्र अवस्था छ ।

यस्तै, महुरेदेखि राजापानी खण्ड (२२ किलोमिटर) सडक कालोपत्रे गर्ने जिम्मा रु ४१ करोड ५० लाखमा भारत कन्स्ट्रक्सन–सिद्धि शाहीले लिएको थियो । ०७७ असार २९ भित्र निर्माण सम्पन्न गर्र्ने गरी २०७३ असार ३० गते सम्झौता भएको थियो । सम्झौता म्याद सकिएको लामो समयसम्म पनि काम सम्पन्न नभएपछि ठेक्का तोडिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख मिश्रले बताउनुभयो । जेभीले २०७९ पुसदेखि आयोजनाको काम अलपत्र पारेर हिडेको छ । काम सकेर हस्तान्तरण गर्ने सम्झतौको म्याद सकिएको साढे तीन वर्ष बितिसक्दा पनि कालोपत्रे सुरु नभएपछि ठेक्का तोडिएको मिश्रको भनाइ छ । ठेक्का तोड्नका लागि गत असोजमा सडक विभाग समक्ष सिफारिस गरिएको भएपनि एक हप्ता अघि विभागले ठेक्का तोडेको उहाँले बताउनुभयो ।

यस्तै, उदयपुरतर्फ पर्ने सडक खण्डको २ वटै ठेक्का पनि तोडिएको मिश्रको भनाइ छ । ठेक्का तोडिएपछि महुरे–फोक्सिन्टार सडक खण्डको पुनः टेण्डर खोल्न प्रक्रिया थालिएको छ । स्टिमेट तयार पारेर सडक विभागमा फाइल पठाइसकिएको प्रमुख मिश्रको भनाइ छ । पुरानो बचत रकम खर्च गर्ने गरी सहमती पाइएमा पुनः टेण्डर आव्हान हुने मिश्रले बताउनुभयो ।

‘अर्को टेण्डर खोल्न हामीले अनुमाती मागिसकेका छौँ । पहिले ठेक्का लागेको पैसा सबै खर्च भएको छैन्, उक्त रकम खर्च गर्न दिने गरी अर्थ मन्त्रालयबाट अनुमती आएमा टेण्डर खोलेर काम सुरु भइहाल्छ ।’ मिश्रले भन्नुभयो, ‘गाईघाट–दिक्तेल खण्डको ४ वटा ठेक्का तोडिएको छ । ७÷८ वर्ष अघि लागेको ठेक्काको रकमले अहिले पुनः टेण्डर खोल्न पुग्दैन । महंगी बढेको छ, लागत झण्डै डबल हुन्छ । त्यसैले उक्त रकमले खोटाङतर्फको फोक्सिन्टार देखि महुरेसम्मको सडकको लागि टेण्डर खुल्छ । उदयपुरतर्फ सडकको लागि पुनः बजेट व्यवस्थापन गर्नु पर्ने हुन्छ । केही पहिरो जाने ठाउँ पनि रहेकाले उदयपुरतर्फको सडकको पुनः डिपिआर गर्ने गरी छलफल भइरहेको छ ।’

महुरे–फोक्सिन्टार सडकको स्टिमेट तयार भएर सडक विभागमा पुगिसकेकाले पुनः टेण्डर चाडै खुल्ने खोटाङ प्रदेश सभा ‘ख’ का सांसद एवं नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भुपेन्द्र राईले बताउनुभयो । ‘फाइल सडक विभागमा पुगिसकेको छ, अब अर्थ मन्त्रालयबाट पुरानो बचत रकम खर्च गर्ने अनुमती लिएर टेण्डर आव्हान हुन्छ ।’ सांसद राईले भन्नुभयो, ‘अनुमती नपाउने भन्नेत कुरै हुन्न, अहिले हामी राष्ट्रिय सभाको निर्वाचनमा व्यस्त छौँ । निर्वाचन सकिने बित्तिकै अर्थ मन्त्रालयमा गएर अनुमती ल्याउछौँ र टेण्डर खुल्छ ।’

खोटाङलाई तराईसँग जोड्ने छोटो दुरीको यो सडक लामो समयसम्म पनि कालोपत्रे नहुँदा नागरिकहरुमा चिन्ता थपिएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी नदिमा पक्की पुल निर्माण भएपनि सडक हिलाम्मे र धुलाम्मेहुँदा सवारी साधन आवतजावत गर्न असहज छ ।

सगरमाथा लोकमार्ग अन्तरगत खोटाङ र उदयपुरको सिमानमा पर्ने सुनकोशी नदिमा निर्माण गरिएको पुल ।