
खोटाङ, माघ ७ । खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क उपचार गरिदिने भएको छ । पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेसनसहितको निःशूल्क उपचार गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँसम्म पुगेर पाठेघरको समस्या भएका महिलाहरुको पहिचान गर्न र उनिहरुको उपचारका लागि गाउँपालिकाले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँग सम्झौता गरेको छ । जसअनुसार पाठेघरको समस्या भएर उपचार नपाएका महिलाहरुको निःशूल्क उपचार हुने गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । गाउँ घरमा धेरै महिलाहरु पाठेघरको समस्याले ग्रसीत भएकाले उनिहरुको निःशूल्क उपचारका लागि व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
पाठेघरको समस्या भएका महिलाहरुको पहिचानको लागि गाउँपालिकाको दुई ठाउँमा शिविर आयोजना गर्ने तयारी गरिएको जनाइएको छ । शिविरमा पहिचान भएका महिलाहरुलाई श्रीरमेमोरीयल अस्पताल बनेपामा लगेर निःशूल्क अप्रेसन गर्ने गरी सम्झौता भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले बताउनुभयो । पहिलो र दोस्रो डिग्रीसम्म समस्या भएका महिलाहरुको पाठेघरमा रिङ प्रेसरी राखेर शिविरमै उपचार गरिने छ । तेस्रो र चौथो डिग्री समस्या भएका महिलाहरुलाई अप्रेसनका लागि अस्पताल लगिने उहाँको भनाइ छ ।
यस अघि जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि सामुदायिक सेवा प्रतिष्ठानसँगको समन्वयमा श्रीरमेमोरीयल अस्पताल पुर्याएर पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन गरेको छ । तर, अप्रेसनका लागि छनोट भएका कतीपय महिलाहरु उपचारका लागि अस्पतालसम्म जान नमान्ने गरेका छन् ।
