
खोटाङ, माघ ६ । भाडाको घरमा रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बाहुनीडाँडा स्वास्थ्य चौकी आफ्नै भवनमा सरेको छ । नयाँ भवन निर्माण भएसँगै स्वास्थ्य चौकी आफ्नै भवनमा सरेको हो ।
२ तले आरसिसि स्वास्थ्य चौकीको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मेयर राईसँगै उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलास बहादुर ठकुराठी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण भाडाको घरमा बस्न बाध्य स्वास्थ्य चौकीले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । विगतमा तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । उक्त भवन भत्काएर वडाको नयाँ भवन निर्माण गर्न थालेपछि स्वास्थ्य चौकीलाई मासिक ५ हजार भाडामा सारिएको थियो । बर्थिङ सेन्टर भने २०७५ सालदेखि नै मासिक ४ हजार भाडाको घरमा राखिएको थियो । दुई ठाउँमा राखिएको स्वास्थ्य चौकीले हाल मासिक ९ हजार भाडा तिर्दै आएको थियो ।
हाल निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको माथिल्लो तलाको २ कोठा स्वास्थ्यकर्मीको लागि क्वाटर र एउटा कोठा किचनको लागि व्यवस्थापन गरिएको छ । तल्लो तलाको ६ वटा कोठाबाट स्वास्थ्य सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको वडाध्यक्ष राईले बताउनुभयो । स्वास्थ्य चौकीको आफ्नै भवन सञ्चालनमा आएसँगै सेवा लिन र दिन सहज हुने उहाँको विश्वास छ । भौगोलीरुपमा वडा ठुलो रहेकाले नागरिकको सहजताको लागि बाहुनीडाँडाको झापामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा प्रदान भइरहेको छ । यस्तै, कदुवामा पनि अर्को स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो ।
हाल सञ्चालनमा आएको बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण जिम्मा गौरी पार्वती न्यू टेक्निकल जेभी ललितपुरले लिएको थियो । २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते सम्झौता भएको स्वास्थ्य चौकी भवन लामो समय अलपत्र बनेको थियो ।
साउदी सरकारको फण्डमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबांदेल र दोर्पाचिउरीडाँडा गरी पाँच स्वास्थ्य चौकीको भवन उक्त जेभीले भ्याटबाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो ।
