Saturday, July 27News That Matters

केएफए दिक्तेल हलेसी मेयर गोल्ड कपको पाँचौ संस्करण आगामी वैशाखमा


खोटाङ, माघ २० । खोटाङमा विगत ७ वर्षदेखि सञ्चालन भइरहेको आमन्त्रित “केएफए दिक्तेल हलेसी मेयर गोल्ड कप” को पाँचौ संस्करण आगामी वैशाखमा हुने भएको छ । “स्थानिय खेलाडीको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान” भन्ने मुल नारासहित चार संस्करण सम्पन्न भइसकेको यस प्रतियोगिताको पाँचौ संस्करण आगामी वैशाख २३ गतेदेखि २९ गतेसम्म माटिकोरे खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको हो ।

२०७३ साल बाट सुरु भएको यस प्रतियोगिताको पहिलो उपाधि खोटाङ फुटबल एकेडेमीले जितेको थियो । क्रमश अन्य संस्करणको उपाधि युवा जागरण क्लब, योङ ब्याईज युनाईटेड र नेर्पा स्पटोस क्लबले जितेका थिए । ०७६ र ७७ मा कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता आयोजना गरिएको थिएन् । नेर्पा स्पटोस क्लबले जितेको अघिल्लो संस्करणमा प्रथम पुरस्कार राशी नगद रु १ लाख ५० हजार राखिएको थियो । यस संस्करणमा पुरस्कार राशी करीब ३ लाखको बनाउने गरी तयारी भइरहेको आयोजकले जनाएको छ । खेल मिति तयार गरेर अन्य व्यवस्थापन थालिएको खोटाङ फुटबल एकेडेमीका प्रशिक्षण प्रमुख रोषेश श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला बाहिर र जिल्ला भित्रको गरी करीब ८ क्लबहरुलाई प्रतियोगितामा आमन्त्रित गर्ने गरी तयारी गरिएको उहाँको भनाइ छ ।

खोटाङ जिल्लाको फुटबल क्लब र खेलाडीहरुको विकास तथा प्रबद्र्धनको लागि वार्षिक रुपमा प्रतियोगिता आयोजना गरिएको छ । खोटाङ फुटबलको विकासमा एक महत्वपुर्ण सावित भएको प्रतियोगिताको यस वर्ष पनि भब्यरुपमा आयोजना हुने श्रेष्ठले बताउनुभयो । खेलाडीको विकाससँगै घट्दै गएको जिल्लाको ब्यापार व्याबसायलाई पनि केही राहत पुग्ने आयोजकको विश्वास छ । प्रतियोगिताको तेस्रो संस्करणबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य प्रायोजकको रुपमा रहेको छ ।

यस प्रतियोगिताले खोटाङमा थुप्रै कुसल खेलाडी तथा फुटबल क्लबहरुलाई जन्म दिएको प्रशिक्षण प्रमुख श्रेष्ठले बताउनुभयो । ‘हरेक वर्ष आयोजना भइरहेको यो प्रतियोगिताले धेरै कुसल खेलाडी उत्पादन गरेको छ । खोटाङ जिल्लालाई अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यता पाउन पनि यस प्रतियोगिताको मुख्य भूमिका छ । जिल्लामा पहिलो पटक एन्फाका अध्यक्षदेखि चर्चित खेलाडीको उपस्थितिमा प्रतियोगिताहरु आयोजना हुने गरेका छन् ।’ श्रेष्ठले भन्नुभयो, ‘पाँचौ संस्करण भब्य बनाउन नैतिक ,भौतिक र आर्थिक सहयोगको लागि पनि हामी सबैलाई अनुरोध गर्छौँ । खोटाङ जिल्ला फुटबल संघ संरक्षक रहेको यस प्रतियोगितामा एन्फाको पनि प्राबिधिक सहयोग रहेको छ । आगामी दिनमा यस प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा पनि दर्ता गराई राष्टिय प्रतियोगिताको मान्यता पाउने गरी हामी लागेका छौँ ।’

बालक देखि बृद्धसम्मको प्रतियोगिता आफ्नो वार्षिक कार्यतालिका बनाई अगाडी बढिरहेको खोटाङ फुटबल एकेडेमीले हालसम्म सयौँ संख्यामा खेलाडी उत्पादन गरेको जनाएको छ । हाल शनिबार बाहेक हरेक दिन सयौँ खेलाडीहरुलाई निःशूल्क फुटबल प्रशिक्षण पनि गराइरहेको प्रशिक्षण प्रमुख श्रेष्ठले बताउनुभयो । जिर्ण रहेको मैदानलाई आफ्नै स्रोत साधन प्रयोग गरेर ११ साईड सम्मको यात्रा तय गराउन सफल भएको उहाँको भनाइ छ ।