Friday, April 17News That Matters

विदेश पठाउने बहानामा पाँच वर्ष अघि ठगिएका ६ जनाले अझै रकम फिर्ता पाएनन्

तस्विरको सानो साइजमा ठगि गर्ने प्रेम पुरी र ठगिएका इन्द्र बहादुर खड्का ९माइकल०, कर्ण बहादुर खड्का, राजेन्द्र खड्का, सोम बहादुर भण्डारी र बाबुराम खड्का ।

खोटाङ, माघ १९ गते । पाँच वर्ष अघि ठगिएका खोटाङका ६ जना ब्यक्तिले अझै पनि रकम फिर्ता पाएका छैनन् । विदेश पठाइदिन्छु भन्दै खोटाङ सोल्माका प्रेम पुरीले उनिहरुसँग रु ८ लाख ९५ हजार लगेका थिए । विदेश पठाइदिने बहानामा रकम लिएर फरार भएका पुरीले हालसम्म रकम फिर्ता गरेका छैनन् ।

२०७५ सालमा पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भन्दै दिक्तेलका इन्द्र बहादुर खड्का (माइकल), कर्ण बहादुर खड्का, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट रु ५०–५० हजार र सोम बहादुर भण्डारीबाट रु ३५ हजार लिएका थिए । दिक्तेलकै बाबुराम खड्काबाट जापान पठाइदिन्छु भन्दै रु ६ लाख ६० हजार लिएका थिए । तर पुरीले विदेश नपठाइ रकम लिएर फरार भएको पीडितहरुको गुनासो छ । उनिहरुले आईएमई र मोबाइल बैंकिङमार्फत पुरीलाई रकम पठाएका थिए । उक्त पैसा पठाएको रकमको प्रमाणसहित सम्बन्धित निकायहरुमा लामो समयदेखि धाए पनि रकम फिर्ता नपाएको उनिहरुको दुखेसो छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा पुरानो घर र हाल मोरङ बसोबास गर्ने पुरी पूर्व सरकारी जागिरे रहेको बुझिएको छ । उनि भ्रष्ट्राचार मुद्दामा करीब तीन वर्ष कारागारसमेत बसेको पाइएको छ । उनि कारागारमैहुँदा पनि खोटाङका ६ जना पीडितहरु उनिलाई भेट्न गएका थिए । रकम फिर्ता गर्ने आश्वासन दिएका पुरीले कारागारबाट निस्केको लामो समयसम्म पनि नदिएको पीडित इन्द्र बहादुरले बताउनुभयो । हाल पुरीसँग सम्पर्क हुन नसकेको उहाँको भनाइ छ ।

रकम फिर्ता गराइदिन भन्दै उनिहरु वैदेशिक रोजगारसम्बन्धि काम गर्ने नेपाल सरकारबाट सञ्चालित सुरक्षित आप्रवासन सामीको कार्यालयसम्म पुगेको बताउछन् । आवश्यक प्रमाणहरु संकलन गरेर जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरीसमेत दिइएको सामीका जिल्ला संयोजक सन्तोष कुमार राईले बताउनुभयो । प्रशासनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएको थियो । तर पुरी पक्राउ भने परेनन् । प्रशासनमा पीडितहरुले पुनः अहिले अर्को उजुरी दिएको बताउछन् । प्रशासनले प्रहरी कार्यालयमा उजुरी दिएसँगै आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पीडितहरुले दिएको उजुरीमा लेखिएको एजेन्ट पुरीका तीन वटा नम्बरमा अहिले फोन लाग्दैन् ।

पुरीबाट ठगिएका इन्द्र बहादुर खड्का (माइकल), कर्ण बहादुर खड्का र राजेन्द्र खड्का, तीन दाजुभाइ हुन् । विदेश जान खोज्दा एजेन्टबाट ठगिएपछि इन्द्रबहादुर अहिले यातायात क्षेत्रमा काम गरिरहेका छन् । दुई भाइहरु कर्ण बहादुर, राजेन्द्र र सोम भण्डारी पुनः ऋण खोजेर अर्को म्यानपावरबाट विदेश गएर केही समय अघि फर्किएको बताउछन् । ठगिएका डिल्ली खत्री हाल मलेसीयामा छन् ।

जापान पठाउने भन्दै ठगिएका बाबुराम खड्का हालसम्म रकम फिर्ता पाउने आशामा नेपालमै बसिरहेका छन् । पुरीले उनलाई जापानको भिजा लागेको भन्दै भिजासहित टिकट र अन्य कागजपत्र दिएर एयरपोर्ट पठाएका थिए । तर सबै नक्कली रहेको भन्दै खड्कालाई एयरपोर्टबाट फिर्ता पठाइएको थियो । यता एजेन्ट प्रेम पुरी भने रकम लिएर फरार भइसकेका थिए ।