Friday, April 17News That Matters

६ महिनामा खोटाङका ४ हजार बढी नागरिक विदेश गए

खोटाङ, माघ १८ । चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म खोटाङबाट ४ हजार बढी नागरिक विदेश गएका छन् । साउनदेखि पुषसम्म ६ महिनामा ४ हजार १ सय ६६ जनाले वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएका हुन् ।

साउनमा ६६५ जना, भदौमा ६७२ जना, असोजमा ७२७ जना, कात्तिकमा ४५४ जना, मंसिरमा ८२३ जना र पुषमा ८२५ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रबाशन सामी कार्यक्रमले जनाएको छ । जसमा महिला ३९२ र पुरुष ३ हजार ७७४ जना रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जिल्लाका ९ हजार ८०६ जनाले वैदेशिक रोजगारिको लागि श्रम स्वीकृति लिएको सामी कार्यक्रमका जिल्ला संयोजक सन्तोष कुमार राईले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा जानको लागि अन्तिम प्रक्रिया श्रम स्वीकृति हो । जसकारण चालू आर्थिक वर्षको हालसम्म ४ हजार बढी नागरिक विदेश गएको संयोजक राईले बताउनुभयो । उनिहरु प्राय खाडी मुलुक, मलेसीया लगायतका देश गएका छन् । तथ्यांक अनुसार खोटाङका करीब ६५ हजार नागरिक रोजगारीको शिलशिलामा हाल विदेशमा छन् । भारतामा कती नागरिक रोजगारीका लागि गएका छन् भन्ने डाटा सरकारसँग पनि छैन् ।

सामी परियोजनाले बिहिबार दिक्तेलमा वैदेशिक रोजगारको पछिल्लो अवस्था सहितको सुरक्षित आप्रवासन सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा विदेश जानेहरुको संख्या निरन्तर बढीरहेको टाडा सामीले प्रस्तुत गरेको थियो । चेतनाको कमी र एजेन्ट दलालहरुको चलखेलका कारण धेरै नागरिकहरु फसिरहेको जनाइएको छ । आफु ठगिएको भन्दै चालू आर्थिक वर्षमा मात्र १६ वटा उजुरी परेको सामी कार्यक्रमका संयोजक राईले बताउनुभयो । रकम लिएर विदेश नपठाउने, रकम फिर्ता पनि नगर्ने, महंगो रकम लिने, मेनपावरले भने अनुसारको विदेशमा काम र तलब नपाउने लगायतमा नागरिकहरु ठगीएका छन् ।

सुरक्षित वैदेशिक रोजगारका बारेमा चेतनाको कमी, कामको बारेमा ज्ञान नहुनु, लगायत नागरिकहरुको कमजोरी देखिएको बताइएको छ । सामी परियोजनाले निःशूल्क सीप सिकाउने भएपनि प्राय नागरिकहरु सीप सिक्न नमान्ने गरेको राईले बताउनुभयो । यो वर्ष मात्र १९ जना भने सीप सिकेर विदेश गएका छन् ।

देशमा रोजगारीको अवसर नभएर वैदेशिक रोजगारीको लागि अत्याधिक नागरिकहरु विदेश जादा बसाइँसराइ, पारिवारिक बेमेल, घरेलु हिंसा, आत्महत्याको घटना वृद्धि, भड्किलो र खर्चिलो सामाजिक जीवन लगायतका समस्याहरु देखा परेको सामीले जनाएको छ ।

यो परियोजना जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी र खोटेहाङ गाउँपालिका गरी चार स्थानीय तहमा सञ्चालन भइरहेको छ । परियोजनाले सीप सम्बन्धित निःशूल्क तालिम, सुरक्षित वैदेशिक रोजगारीको विषयमा सूचना प्रदान, ठगिएका एवं समस्यामा परेकाहरुको खोजी उद्दारसँगै आर्थिक सहायता, वित्तिय साक्षरता, मनोसामाजिक परामर्श सेवा लगायतको कामहरु गर्दै आएको जिल्ला संयोजक राईले बताउनुभयो ।