Saturday, July 27News That Matters

पिपलडाँडा माविलाई पुनः उपाधि, दाम्लि मावि दोस्रोहुँदा च्यास्मीटर मावि तेस्रो


खोटाङ, माघ १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले जितेको छ । देवीस्थानले लगातार दोस्रो पटक प्रथम शिल्ड आफ्नो पोल्टामा पारेको हो ।

अघिल्लो वर्ष उपाधि जितेको देवीस्थानले यो वर्ष पनि ९ स्वर्ण, ५ रजत र ७ कास्य पदकसहित उपाधि जितेको नगरपालिकाले जनाएको छ । अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा शनिबारदेखि सञ्चालन भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । डिकुवास्थित दाम्लि माध्यमिक विद्यालय ४ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित प्रतियोगिताको दोस्रो भएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । यस्तै, च्यास्मीटर मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भएको छ ।

एथलेटिकमा २६, भलिबलमा २ र कवड्डिमा २ गरी कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । जसमा ज्योति माविले ३ स्वर्ण, ६ रज र १ कास्य, लक्ष्मी माविले ३ स्वर्ण, १ रजक र ३ कास्य, दुर्छिम मावि र सरस्वती माविले समान २ स्वर्ण, १ रजत र ३ कास्य, कालिका माविले २ स्वर्ण, १ रजत र १ कास्य जित्न सफल भएका छन् । यस्तै, बुलापन्थे माविले १ स्वर्ण, २ कास्य र ३ रजत, महेन्द्रोय माविले ४ रजत २ कास्य, जनता माविले २ रजत, हलेश्वर बोर्डिङ र युमि स्कुलले समान १ कास्य पदक जितेका छन् । मालिका माविले भने प्रतियोगिताको कुनै पनि पदक जित्न नसकेको प्रशिक्षक कसजुले बताउनुभयो ।

विजेता विद्यालय र खेलाडीलाई नगर प्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । नगरपालिका भित्रका १४ वटा विद्यालयका ५ सय ६१ जना खेलाडी सहभागी प्रतियोगिताको शनिबार नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शनिबार उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रत्येक विधामा प्रथम, दोश्रो र तेश्रो हुने विधार्थी खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी विद्यालयलाई दुरीको आधारमा ३० देखि ५० हजार खर्च उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाख लागतमा प्रतियोगितामा सञ्चालन गरिएको बताइएको छ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २७, २८ र २९ गते दिक्तेलमा हुँदै छ । एथलेटिकमा स्वर्ण जित्ने खेलाडीहरु स्वत जिल्ला स्तरको प्रतियोगितामा भाग लिने छन् । भलिबल र कबड्डिको खेलाडीहरु नगरमा सञ्चालन भएको प्रतियोगितामा प्रदर्शन गरेको खेलका आधारमा छनोट गरेर पठाइने खेल प्रशिक्षक कसजुले बताउनुभयो ।