Saturday, July 27News That Matters

दिक्तेल रुपाकोटमा कृषि एम्बुलेन्स सञ्चालन, कृषकलाई सहज

कृषि एम्बुलेन्स सञ्चालनको पहिलो दिन खार्मी पुगेर कृषि उपज बजार ल्याउदै नगर प्रमुख भट्टराई, उपप्रमुख राई लगायत ।

खोटाङ, माघ २१ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । नगरपालिकाले आइतबारबाट कृषकको सहजताका लागि कृषि एम्बुलेन्स सुरु गरेको जनाएको छ ।

कृषि एम्बुलेन्स सञ्चालनको पहिलो दिन नगर प्रमुख तीर्थ राज भट्टराई, उपप्रमुख विसन राई लगायतको टोली वडा नम्बर ११ खार्मी पुगेर कृषि उपज बजार ल्याएका छन् । खार्मीस्थित सोति कृषि तथा पशुपंक्षी वहुउद्श्यीय फर्मको तरकारी दिक्तेल बजार ल्याइएको हो । कृषि एम्बुलेन्समार्फत ल्याइएको कृषि उपज नगरपालिकाले निःशूल्क प्रदान गरेको बिउबाट उत्पादन भएको कृषि फर्मका अध्यक्ष हर्कराज राईले बताउनुभयो । वार्षिक भाडा तिर्ने गरी उक्त कृषि समुहले जग्गा भाडामा लिएर सामुहिक कृषि खेती सुरु गरेको छ । नगरपालिकाले बजारसम्म निःशूल्क ल्याउने व्यवस्था गरिदिदा सहज भएको अध्यक्ष राईको भनाइ छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमासमेत कार्यक्रम समावेश गरिएकाले एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख भट्टराईले बताउनुभयो । तत्काललाई शुभम फाउण्डेसनसँग साझेदारी गरेर सुलभ दरमा फाउण्डेनको गाडीलाई एम्बुलेन्सकोरुपमा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

नगरपालिकाले दिक्तेलस्थित हाटडाँडामा कृषि उपज संकलन केन्द्र निर्माण गरिरहेको छ । संकलन केन्द्र निर्माण सम्पन्न पश्चात बजारीकरणसमेत नगरपालिकाले गरिदिने प्रमुख भट्टराईले बताउनुभयो । हाललाई कृषकको घरबाट कृषि उपज बजारसम्म ल्याउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ‘एक गाडी कृषि उपज संकलन गरेर कृषकले नगरपालिमा खबर गर्ने छन् । त्यसपश्चात नगरपालिकाको कृषि एम्बुलेन्स गएर बजारसम्म ल्याइदिने छ । कृषि उपज ढुवानी र बजारीकरणमा समस्या रहेको भन्ने कृषकको गुनासो थियो ।’ प्रमुख भट्टराईले भन्नुभयो, ‘अब कृषकका समस्याहरु क्रमश हल हुँदै जानेछन् । हाललाई कृषि एम्बुलेन्समार्फत कृषकका खेतसम्म पुगेर कृषि उपज बजारसम्म ल्याउने व्यवस्था मिलाएका छौँ । केही समय पछि बजारीकरणको व्यवस्थासमेत गर्ने छौँ ।’

कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सहज हुने भएको छ । तर यसलाई निरन्तरता भने दिनु पर्ने अगुवा कृषक गंगा विश्वकर्माले बताउनुभयो । ‘नगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएछ यो खुशीको कुरा हो, तर यसलाई निरन्तरता दिनु ठुलो कुरा हो । बजारसम्म मात्र ल्याएर हुँदैन बजारीकरणको व्यवस्थासमेत नगरले गर्यो भने धेरै राम्रो हुने छ । अझ अर्को कुरा उत्पादनमा अझै जोड दिन आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

नगरपालिकाको माटो, हावापानी अनुसार ब्यापाक कृषि उपजहरु उत्पादन सुरु गरेको नगर उपप्रमुख विसन राईले बताउनुभयो । माथिल्लो भेगमा किवी, तल्लो भेगहरुमा कफी, करेला, प्याज, टमाटरहरु उत्पादनको लागि विउ विरुवा वितरणदेखि बेर्ना उत्पादनमासमेत नगरपालिका लागिरहेको उहाँको भनाइ छ ।