Sunday, September 13News That Matters

खोटाङ एसईई काण्ड २ : म्यासेन्जर ग्रुप बनाएर चिट चोर्ने तीन विद्यार्थी प्रहरीको नियन्त्रणमा

फाइल तस्विर

खोटाङ, चैत २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम दिन खोटाङमा मोबाइलबाट चिट चोर्दै गरेका तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनकामना मावि परीक्षा केन्द्रबाट मोबाइलसहित शुक्रबार तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा पर्ने दुई जना छात्र र एक जना छात्रा रहेका छन् । उनीहरु अन्नपूर्ण मावि दोर्पाचिउरीडाँडा बुवालुङका विद्यार्थी रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की र डिएसपी पुरुषोत्तम खड्काको टोली अनुगमन गर्न जादा तीन जना विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । फेसबुक मेसेन्जर ग्रुप बनाएर प्रश्नपत्र पठाउने र उत्तर सार्ने गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताउनुभयो । ‘चिट चोर्नको लागि उनीहरुले “कक्षा दश एसईई ग्रुप” बनाएका रहेछन्, सोही ग्रुपमा प्रश्न पठाउदा रहेछन्, अनि बाहिरबाट उत्तर आएपछि धमाधम सारिरहेको अवस्थामा हामिले भेटेका हौँ ।’ डिएसपी खड्काले भन्नुभयो, ‘तीनै जना विद्यार्थीलाई सोधपुछका लागि जिप्रका ल्याएका छौँ, अनुसनधान भइरहेको छ ।’ शुक्रबारको तीनै जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

यसैबिच, बिहिबार मोबाइलकै प्रयोग गरेर चिट चोर्दै गरेका जालपा मावि परीक्षा केन्द्रका तीन जना विद्यार्थीको पनि परीक्षा रद्द भएको थियो । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका निमित्त प्रमुख नन्द बहादुर विश्वकर्माको टोली अनुगमनका लागि बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा पुग्दा तीन जना विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको अवस्थामा भेटिएका थिए ।

कालिका मावि खार्मीका २ र सरस्वति मावि पाथेकाका एक जना गरी उक्त तिनै जनाको बिहिबारको परीक्षा रद्द गरेर मोबाइल नियन्त्रणमा लिएको विश्वकर्माको भनाइ छ । परीक्षा हलका निरीक्षक हरिप्रसाद भट्ट र सुमन दाहाललाई तत्काल हटाइएको उहाँले बताउनुभयो । खार्मीका विद्यार्थीले “इकोनोमिक्स ग्रुप” र पाथेकाका विद्यार्थीले “क्लास टेन स्टुटेण्ड इम्पोटेन” म्यासेन्जर ग्रुप बनाएर प्रश्न र उत्तर आदानप्रदान गर्ने गरेको पाइएको थियो । म्यासेन्जर ग्रुपमा विद्यार्थीले प्रश्न पठाउने र शिक्षकहरुले बाहिरबाट उत्तर पठाउने गरेको निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो ।