
खोटाङ, चैत २२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ ।
इकाईका निमित्त प्रमुख नन्द बहादुर विश्वकर्माको टोली बिहिबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहिबारको परीक्षा रद्द गरिएको निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो । उक्त तीन जना विद्यार्थी रहेको २ वटै कक्षाका निरीक्षकलाईसमेत हटाइएको छ । एउटा कोठमा एक जना सरस्वति मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोबाइल भेटिएको थियो । उक्त दुई कोठाका निरीक्षक हरिप्रसाद भट्टराई र सुमना दाहाललाई तत्काल हटाइएको इकाई निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो ।
बिहिबार ऐच्छिक प्रथम (अर्थशात्र) को परीक्षा सञ्चालन भइरहदा खार्मीका विद्यार्थीले फेसबुक मेसेन्जरमा “इकोनोमिक्स ग्रुप” नामको ग्रुप निर्माण गरिएको भेटिएको छ । उक्त ग्रुपमा विद्यार्थीले प्रश्न पठाउने र कालिका मावि खार्मीका प्रधानाध्यापक प्रकाश राईले बाहिरबाट उक्तर पठाइदिएको पाइएको विश्वकर्माले बताउनुभयो । सरस्वति माविका विद्यार्थीको मोबाइलमा “क्लास टेन स्टुटेण्ड” नामक मेसेन्जर ग्रुपबाट पश्नपत्र पठाउने र उत्तर आउने गरेको थियो । उक्त ग्रुममा कसले उत्तर पठाएको भन्ने खुल्न बाकी रहेको विश्वकर्माको भनाइ छ ।
