Thursday, April 16News That Matters

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए तलब भत्ता रोक्का हुने


खोटाङ, चैत २० । खोटाङको खोटेहाङ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट तलब, भत्ता लगायतका आर्थिक सुविधा लिएका ब्यक्तिहरुले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको यो निर्णय शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । गाउँपालिकाको नीति अनुसार आगामि वैशाखबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अनिवार्य सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्नु पर्ने छ । चालू आर्थिक वर्ष २०८०/०८१ को गाउँपालिकाको नीति तथा कार्यक्रममा यो नीति उल्लेख गरिएको थियो । सोही अनुसार चैत ८ गते गाउँकार्यापालिकाको बैठक बसेर नीति कार्यक्रम लागू गर्ने गरी निर्णय गरिएको गाउँपालिकाले सूचनामार्फत जनाकारी दिएको छ । शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गरेर नपढाए तलब, भत्ता रोक्का हुने प्रमुख प्रशासकीय अधिकृत महेश राईले जारी गरेको सूचनामा भनिएको छ ।

सामुदायिक विद्यालयमा निरन्तर ओरालो लागिरहेको शैक्षिक गुणस्तरलाई सुधार्नको लागि यस्तो नीति अपनाइएको गाउँपालिका उपाध्यक्ष रुपेश राईले बताउनुभयो । ‘सम्पति भएका, बोल्न सक्ने, नेता कर्मचारीहरु सबैले निजी विद्यालयमा छोराछोरी पढाउने चलन छ, यता सामुदायिक विद्यालयमा कस्को ध्यान जाने । कमसेकम आफ्ना छोराछोरी त्यहाँ पढ्न थालेपछि, त्यसको निगरानी, खबरदारी हुन्छ ।’ उपाध्यक्ष राईले भन्नुभयो, ‘अहिले हरेक वर्ष शिक्षासेवा आयोग पास गरेका योग्य शिक्षकहरु विद्यालय आइरहेका छन्, तर गुणस्तर खस्किरहेको छ । त्यसैले यसरी अघि बढ्दा सुधार्न सकिन्छ भनेर यस्तो निर्णय गरेका हौँ ।’

नीति तथा कार्यक्रममै राखेर अभियान सुरु गरेको गाउँपालिकाले निर्णय लागू हुनेमा विश्वस्त छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक प्राय सबैले सामुदायिक विद्यालयमा पढाउन तयार भएको बताएका छन् । जसकारण गाउँपालिकाको नीति लागू हुने उपाध्यक्ष राईको भनाइ छ । ‘सबैले सामुदायिक विद्यालयमा पढाछौँ भन्ने कुरा आएको छ, कसको छोराछोरी कहाँ पढ्दै छ भनेर जानकारी आइहाल्छ ।’ उपाध्यक्ष राईले भन्नुभयो, ‘यदि निर्णयको पालना नगरेकामा तबल, भक्ता रोक्का हुन्छ ।’ गाउँपालिकाले निर्णय गरेको यो नीतिलाई लागू गर्न सबै राजनीतिक दल, सरोकारवाला निकायहरुलाई सहयोगका लागि अपिलसमेत गरिएको छ ।

९ वटा वडा रहेको खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक र दुईवटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।