Saturday, July 27News That Matters

खोटाङका दिदिबहिनीलाई सैलुङ अल्ट्रा म्याराथनको उपाधि

खोटाङ, चैत १९ । रामेछापमा सम्पन्न सैलुङ अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि खोटाङका दिदिबहिनीले जितेका छन् । दिदि निर्मला राईले ५५ किलोमिटर दूरीको र बहिनी प्रियाले २५ किलोमिटर दूरीको उपाधि जितेका हुन् । उपाधिसँगै निर्मलाले रु ८० हजार र प्रियाले रु ४५ हजार नगद पाएका छन् ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल स्थायी घर भएका उनीहरु नेपालमा आयोजना भएको म्याराथन प्रतियोगिताको प्राय उपाधि जितिरहेका हुन्छन् । केही समय अगाडि ओखलढुंगामा सम्पन्न म्यारथनमा पनि प्रिया प्रथम र निर्मला दोस्रो भएका थिए । प्रिया राईले नेपालको प्रतिनिधित्व गर्दै केही अन्तराष्ट्रिय म्याराथनकोसमेत उपाधि जितेकी छिन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ ५५, २५ र ५ किलोमिटर दूरीको म्यारथन आयोजना गरिएको थियो ।

प्रतियोगितामा १ सय २७ पुरुष, ३१ महिला र ५ विदेशी खेलाडी सहभागी थिए । म्याराथन सुनापतिको हिलेदेखि सुरु भएर सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो ।