
खोटाङ, चैत १५ । खोटाङमा एक जना केन्द्र अध्यक्ष कारबाहीमा परेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियम विपरीत गर्ने विश्वज्यति माविका केन्द्र अध्यक्ष माधव प्रसाद ठाकुर कारबाहीमा परेका हुन् । उनले नियम विपरीत परीक्षर्थीलाई सहभागी गराएकाले केन्द्र अध्यक्षबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख नन्द बहादुर विश्वकर्माले बताउनुभयो ।
केन्द्र अध्यक्ष तथा विश्वज्यति मावि लामिडाँडाका प्रधानाध्यापक ठाकुरले एक जना परीक्षार्थी बिरामी भएर अस्पतालमा भएकाले सट्टामा अर्को ब्यक्तिलाई परीक्षामा सहभागि गराएका थिए । माध्यमिक शिक्षा परीक्षा सञ्चालन समबन्धि ऐन २०६८ अनुसार अपाङ्गाता भएका ब्यक्तिको सट्टामा मात्र अर्को ब्यक्ति राख्न पाइने नियम छ । तर, नियम विपरीत अस्पतालमा भएको भन्दै सट्टा परीक्षार्थी राखिएकाले ठाकुरलाई केन्द्र अध्यक्षबाट हटाइएको हो बताइएको छ ।
ठाकुरलाई हटाएर साहयक प्रधानाध्यापक दिपेन्द्र यादबलाई परीक्षा केन्द्र अध्यक्ष तोकिएको इकाई प्रमुख तथा जिल्ला परीक्षा सञ्चालन समिति खोटाङका सदस्य सचिव विश्वकर्माले बताउनुभयो । ‘अस्पतालमा भएको विद्यार्थीको सट्टामा अन्य ब्यक्तिलाई परीक्षामा राख्नु पर्यो भन्दै केही समय अघि मात्र हामीलाई जानकारी गर्नु भएको थियो । हामीले हुँदैन नराख्नु, सँगै भएको भए हुन्थ्यो, तर परीक्षा हलमै उपस्थित नभएको ब्यक्तिको सट्टामा अन्य ब्यक्तिले परीक्षा दिन नियमले दिदैन् भन्यौ ।’ विश्वर्माले भन्नुभयो, ‘तर उहाँले राखेको भन्ने जानकारी आयो, त्यसपछि तत्काल परीक्षा सञ्चालन समितिको बैठक बसेर केन्द्र अध्यक्ष हटाएका हौँ ।’
तत्कालका लागि केन्द्र अध्यक्षबाट हटाइएको र थप अनुसन्धान हुने प्रमुख जिल्ला अधिकारी एवं परीक्षा सञ्चालन समितिका प्रमुख शिव कुमार कार्कीले बताउनुभयो । ‘उहाँ नियम विपरीत गएकाले हटाएका छौँ, तत्काललाई यो ठुलो कारबाही हो ।’ सिडिओ कार्कीले भन्नुभयो, ‘भोली उक्त परीक्षा केन्द्रमा जादै छौँ, यस विषयमा थप अनुसन्धान हुन्छ ।’
रावा बेसी गाउँपालिका–३ लामिडाँडास्थित विश्वज्योति मावि परीक्षा केन्द्र रहेका शारदा मावि खार्पाका एक जना विद्यार्थी केही दिन अघिदेखि बिरामी परेका बुझिएको छ । केही दिन अघिबाट बिरामी भएर अस्पतालमा भएकाले उनको सट्टामा ९ कक्षामा अध्ययनरत एक जना विद्यार्थीलाई परीक्षा दिन लगाइएको देखिएको लामिडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताउनुभयो । ‘नियमित विद्यालय आउने विद्यार्थी परीक्षा सुरु हुने बेला बिरामी परेछन्, परीक्षा दिनै नसक्ने अवस्था भएपछि ९ कक्षामा पढ्ने अर्को विद्यार्थीलाई परीक्षा दिन लगाइएको रहेछ ।’ वडाध्यक्ष मगरले भन्नुभयो, ‘तर नियम विपरीत भएको भन्दै परीक्षा केन्द्र अध्यक्ष परिवर्तन गरिएको देखियो ।’
बिहिबारबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा खोटाङबाट नियमित २ हजार ८५६ जना विद्यार्थीले परीक्षा दिएका छन् । ४१ जना विद्यार्थी परीक्षामा उपस्थित भएनन् । उपस्थित नहुनेमा ३४ जना छात्रा र ७ जना छात्र रहेका छन् ।
२४ वटा परीक्षा केन्द्र तोकिएको छ । १०० वटा सादुदायिक र ४ वटा संस्थागत गरी १०४ वटा माध्यमिक विद्यालयबाट परीक्षार्थी सहभागि छन् । जिल्लाभर सबै भन्दा धेरै सरस्वती मावि दिक्तेलबाट १८० जना र सबै भन्दा कम शान्तोदय मावि ज्यामिरे सल्लेबाट ४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि छन् ।
