Saturday, July 27News That Matters

अण्डर १८ गायन प्रतियोगितको उपाधि मिलन बिकलाई, सुदिप दोस्रोहुँदा कञ्चन तेस्रो


खोटाङ, जेठ ६ । खोटाङमा आयोजना गरिएको १८ वर्ष मुनिको राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले जितेका छन् । उपाधिसँगै मिलनले नगद ४० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

“प्रथम वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१” अन्तरगत आइतबार दिक्तेलस्थित कर्भडहलमा सञ्चालन गरिएको १८ वर्ष मुनिको राष्ट्रिय गायन प्रतियोगिताको दोस्रो सुदिप विश्वकर्मा भएका छन् । सुदिपले नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको तेस्रोहुँदै कञ्चन राईले नगद १७ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

चौथो र पाचौँ हुने अदिति शाक्य र डेनिस राईले क्रमश नगद ११ हजार र ७ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरु ५ जना नै खोटाङकै रहेका छन् ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा खोटाङ कलाकार समाजको सह–आयोजनामा सञ्चालन भएको १८ वर्ष मुनिको राष्ट्रिय गायन प्रतियोगिताको निर्णायकमा वरिष्ठ सङ्गीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा सङ्गीतकार रोशन राई रहेका थिए । गायन प्रतियोगितामा २९ जनाले भाग लिएका थिए । पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ छनोट गरिएको थियो । उत्कृष्ट १५ ले पुनः प्रस्तुति दिएपछि विजेतासँगै उत्कृष्ट ५ छनोट गरिएको हो । सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिएको मुख्य आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताए ।

कार्यक्रको प्रमुख अतिथिकोरुपमा गीतकार तथा कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री राजन राई रहेका थिए । कार्यक्रममा खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईसँगै अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

वरिष्ठ सङ्गीतकार खड्का र गायिका राई सम्मानित

वृहत खोटाङ महोत्सवको मुख्य आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ सङ्गीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरेको छ । खोटाङमा जन्मिएर नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै ७ हजार ७७७ नगदसहित सम्मानपत्रले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राईले बताए ।