
राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन १६ । मन कुमारी नेपाली, भुमिका नेपाली र माधव नेपाली, यि तीन बालबालिकाको सहारा अहिले उनीहरु आफै हुन् । शरीर ढाक्ने कपडा र पेट अघाउने खाना भए उनीहरुलाई पुग्छ । च्यातिएको कपडासँग उनीहरुको कुनै गुनासो छैन्, गुनासो छ त रक्सीसँग । जसले उनीहरुलाई अनाथ बनायो ।
गाउँमा टन्न रक्सी खाने अनि घर गएर श्रीमती र छोराछोरी कुट्ने टेक बहादुर नेपालीको दैनिकी जस्तै भएको थियो । बेलाबेला श्रीमती निर्मला नेपाली पनि रक्सीको स्वाद लिएपछि श्रीमानसँगै जुध्न तयार हुन्थिन् । रक्सीले टिल्ल भएर टेक बहादुर र निर्मला झगडा गर्न थालेपछि ११ वर्षकी मनकुमारी, ९ वर्षकी भुमिका र ८ वर्षका माधवको रात घर बाहिर कट्थ्यो ।
खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा शारदा माध्यमिक विद्यालय नजिकै उनीहरुको घर रहेको छ । तर, अहिले त्यो घरको ताला खुल्दैन् । त्यो घरको चाबी निर्मला नेपाली सधैका लागि अस्ताइसकिन् । टेकबहादुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । रक्सी खाएर झगडा गर्ने र फेरी रक्सी खाएरै मिल्ने टेकबहादुर र निर्मलाले आफ्ना तीन छोराछोरीलाई भने अनाथ बनाएका छन् ।
झगडा गरेर शरीर भरी चोट बोकेर हिड्ने निर्मला गत फागुनमा अचानक बिरामी परिन् । नजिकैको खार्पा स्वास्थ्य चौकीसम्म उनी उपचारका लागि पुगिन् । अन्ततः फागुन २२ गते निर्मलाको मृत्यु भयो । त्यस अघि पनि दैनिक विद्यालय जान नपाउने तीन छोराछोरी आमाको मृत्यु पश्चात १०० मिटरको दुरीमा रहेको विद्यालय उनीहरुको लागि धेरै टाढा भयो । विद्यालयको छेउमै घर भएपनि उनीहरु बत्ति मुनीको अध्यारो भने जस्तै भए ।
टेकबहादुरले श्रीमतीको मृत्यु पश्चात पनि रक्सी छाडेनन् । कहिलेकाही छोराछोरीलाई भात पकाएर दिन्थे, तर प्राय जसो होसमा नहुने टेकबहादुरले छोराछोरीको भोको पेट कहिले देखेनन् । बरु उल्टै निर्दोष बालबालिकाको ढाडमा लाठी बजार्न भ्याए । उनीहरुको घरबाट १० मिटरको दुरीमा रहेको शारदा माविको होस्टलमा बसोबास गर्ने शिक्षक माधव पोखरेलका अनुसार “श्रीमतीहुँदा दिनहुँ श्रीमान श्रीमतीको झगडा भइरहन्थ्यो । कसैले भनेको नसुन्ने टेकबहादुर श्रीमतीको मृत्यु पश्चात मातेर आएर छोराछोरी कुट्दै गरेको भेटिन्थे । बालबालिकाले प्राय घरमा खाना खान पाउदैन थिए, उनीहरु गाउँमा अरुको घरमा गएर भोक मेटाथे ।”
प्राय रक्सी खाएर टिल्ल हुने टेकबहादुर नेपाली साउन ६ गते गैरकानुनि काम गरेर पक्राउ परेका छन् । सुस्त मनस्थिति भएकी महिलालाई जवरजस्ती करणी गरेर पक्राउ परेका टेकबहादुर अहिले प्रहरी हिरासतमा छन् । उनी कारागार चलानको प्रक्रियामा रहेका हुन् । बुवाआमा साथैमा हुँदा सहरा विहीन जस्तै त्यी बालबालिका अहिले भने औपचारिकरुपमै सहारा विहीन भएका हुन् । बुवालाई प्रहरीले पक्राउ गरेपछि ठुलोबुवाको घरमा आश्रय लिएर बालबालिका बसेका थिए । आम्दानीको स्रोत नहुँदा आफ्नै छोराछोरीलाई राम्रो पालनपोषण गर्न नसकेका ठुलोबुवाआमाले उनीहलाई आश्रय मात्र दिइरहेका थिए । उनीहरुलाई पढाउन सक्ने अवस्था नरहेको ठुलीआमा सुविना नेपालीको भनाइ छ ।
गाउँमा अरुको घरमा काम गरिदिएर बालबालिकाले आफ्नो भोक टार्दै आएका थिए । प्राय जसो आफुले पनि उनीहरुलाई खाना खाजा दिने गरेको छिमेकी फडिन्द्र श्रेष्ठको भनाइ छ । यसरी अभिभावक नहुँदा बिचल्ली भएका उक्त तीन बालबालिकाको बारेमा भिउज अफ नेपालमा भिडियो समाचार प्रशारण भएपछि जिल्ला प्रहरी कार्यालय खोटाङले उनीहरुको उद्धार गरेको छ । डिएसपी पुरुषोत्तम खड्काको पहलमा मंगलबार उद्धार गरिएका त्यी बालबालिकालाई बुधबार पूर्वाञ्चल बाल सेवा आश्रम बिराटनगर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरीहरुले आर्थिक संकलन गरेर उनीहरुलाई नयाँ कपडाहरु खरिद गरिदिएका छन् । बुधबार बिहान सार्वजनिक बसमा राखेर २ जना प्रहरीले बालबालिकालाई साथमा लिएर बाल सेवा आश्रम गएको डिएसपी खड्काले बताउनुभयो । मोरङको बिराटनगर महानगरपालिका–१३ मा अवस्थित पूर्वाञ्चल बाल सेवा आश्रममा उनीहरुलाई राख्ने समन्वय गरिएको उहाँको भनाइ छ । उनीहरुको पालनपोषण, शिक्षा प्रदान सबै बाल आश्रमले गर्ने डिएसपी खड्काले बताउनुभयो ।
यसरी अत्यधिक जाँडरक्सी सेवनका कारण निर्मलाको ज्यान गयो, टेकबहादुर जेल गए र छोराछोरी अनाथ भए ।
