
खोटाङ, साउन ३२ । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
शुक्रबार (आज) गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । बिहिबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामीडाँडाकी सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको थियो । बिश्वज्योती मावि लामीडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो ।
तल्लो सडकबाट यात्रा गरिरहनु भएका शिक्षिका सावित्रादेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो । उहाँसँगै अगाडि हिँडिरहेका आफन्त ७० वर्षीया हर्क कुमारी श्रेष्ठ भने पहिरोबाट जोगिनुभएको छ । शिक्षिका सावित्रादेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए । शिक्षिका सावित्रादेवीको अनिवार्य अवकाश हुन केही समय मात्र बाकी रहेको विद्यालयले जनाएको छ ।
विद्यालय जादै गर्दा पहिरोले पुरेर शिक्षिकाको असमायिक निधन भएकाले दुःख ब्यक्त गर्दै शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
