Sunday, October 6News That Matters

हलेसीको मुहार फेर्ने साढे ८ करोडको योजना शिलान्यास

हलेसी मन्दिर प्रवेशद्धारमा योजना शिलान्यास गर्नुहुँदै पूर्व मन्त्री सीता गुरुङ ।

खोटाङ, भदौ २२ गते । प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ । हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गर्नु भएको हो ।

चन्द्र ज्योति कन्स्ट्रक्सनले भ्याटसहित ८ करोड, ३९ लाख, ५१ हजार ७७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त योजना अन्तरगत बजार एवं मन्दिर परिसरको सडक ढलान गरेर त्यसमाथि आकर्षक ढुंगा बिछ्याइने छ । सोही योजना अन्तरगत मध्यपहाडि लोकमार्गबाट पर्यटकीय स्थल रक गार्डेन जाने १२ सय मिटर सडक ढलान हुनेछ । यस्तै, हलेसी प्रवेश गेट नजिकै सवारी साधन पार्किङ स्थल निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर गणेस पाण्डेले बताउनुभयो ।

२०८१ जेठ २९ गते ठेक्का सम्झौता भएको उक्त योजना आगामी असार मसान्तसम्मा सक्नु पर्ने छ । सम्झौता मिति भित्र सम्पन्न गर्ने गरी काम सुरु भइसकेको निर्माण व्यवसायिले बताएका छन् । योजना शिलान्यास गर्नुहुँदै पूर्व मन्त्री गुरुङले धार्मिक एवं पर्यटकीय स्थल हलेसी अब थप व्यवस्थित हुने बताउनुभयो । गुरुङ मन्त्रीहुँदा गत आर्थिक वर्ष २०८०/०८१ मा उक्त योजनाकालागि बजेट विनियोजन भएको थियो ।

सडक योजना शिलान्यास एवं तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री सीता गुरुङ ।

दैनिकरुपमा देश विदेशबाट दर्शन एवं भ्रमण गर्न हलेसीमा पर्यटकहरु आउने गरेका छन् । तर, मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा असहज हुने गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । शिलान्यास भएको योजना सम्पन्न पश्चात हलेसी मन्दिर परिसर हिलो र धुलो मुक्त हुने मेयर राईको भनाइ छ । हलेसी नजिकै रहेको पर्यटकीय स्थल रक गार्डेनमा जाने सडकसमेत उक्त योजनाले ढलान भएपछि पर्यटकहरुलाई सहज हुने छ । साथै हलेसीमा पार्किङको समस्या रहेको छ । आगामी वर्षबाट त्यो समस्या पनि हल हुने मेयर राईले बताउनुभयो ।

उक्त योजनाले हलेसीको मुहार फेर्नुका साथै समग्र जिल्लाको विकासमा ठुलो टेवा पुग्ने प्रतिनिधि सभा सदस्य सरस्वति बजिमय, राप्रपा खोटाङका अध्यक्ष ललित राई लगायतले बताउनुभएको छ ।