Sunday, October 6News That Matters

हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ


खोटाङ, भदौ २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको शुक्रबार सार्वजनिक सुनुवाइ गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष ८०/८१ मा रु ७० करोड ५७ लाख २४ हजार ५८ रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा कुल बजेटको ८३.५४ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा रु १ करोड ५० लाख ९४ हजार ९ सय ३० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

सुशासन र पारदर्शिताको लागि हलेसी तुवाचुङ नगरपालिकाले हरेक अर्ध वार्षिक र वार्षिकरुपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ । आगामी दिनमा अझ चार चार महिनाको अन्तरमा नगरपालिमा भइरहेको कामहरुको विषयमा सार्वजनिक सुनुवाइ गर्ने मेयर विमला राईले बताउनुभएको छ ।

नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ एवं एसईईमा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कार प्रदान कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले गर्नुभएको हो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला निकायहरुले नगरपालिकाको बजेट तथा सेवा प्रवाहमा प्रश्न गर्नुका साथै सुझाव दिएका थिए । प्रश्नसँगसगै सम्बन्धित शाखा एवं जनप्रतिनिधिले त्यसको जवाफ दिएका छन् ।

कार्यक्रममा राजनीतिक दलकातर्फबाट नेपाली कांग्रेस नगर समिति सभापति चक्र कुमार राई, नेकपा एमाले नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङ, नेकपा माओवादी केन्द्र नगर कमिटि उपाध्यक्ष प्रदिप राई र नेकपा एकिकृत समाजवादी नगर कमिटि अध्यक्ष मकर राईले आफ्नो धारणासँगै सुझाव राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समन्व प्रमुख राईले हरेक निकाय पारदर्शी हुनु पर्ने भन्दै हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नु महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रम र बजेट हेर्दा, विभिन्न निकायको मुल्याङ्कनहरु हेर्दा हलेसी तुवाचुङ नगरपालिका संघीयता कार्यन्वयनमा अगाडी देखिएको प्रमुख राईले बताउनुभएको छ ।

यसैबीच, सोही कार्यक्रममा शैक्षिक सत्र २०८० को एसईई परिक्षामा नगरपालिका भरीका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीमध्ये सबै भन्दा धेरै अंक ३.४० जिपिए ल्याउने महेन्द्रदोय माविकी छात्रा दया राईलाई नगरपालिकाले नगद २० हजारसहित सम्मानपत्रले सम्मान गरेको छ । यस्तै, धेरै विद्यार्थी संख्या उत्तिर्ण गराएर नगर प्रथम हुने बुलापन्थे मावि, दोस्रो हुने लक्ष्मी मावि र तेस्रो हुने महेन्द्रदोय माविलाई क्रमश ५०,४० र २५ हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ ।