खोटाङ, भदौ ३० । खोटाङमा स्वास्थ्यकर्मी सुतेकै ठाउँमा मृत भेटिएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित सामुदायिक स्वाथ्य सेवा इकाइ केन्द्र किवामा कार्यरत अहेव मणि घिमिरे मृत भेटिएका हुन् ।
शनिबार राती सुतेका अहेव घिमिरे आइतबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा घर भएका २९ वर्षका घिमिरे डेढ वर्ष अघिदेखि साकेला गाउँपालिकामा कार्यरत थिए । साकेला गाउँपालिका–५ मात्तिममा साथीको घरमा सुतेको अवस्थामा अहेव घिमिरे मृत भेटिएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।
सुतेको ठाउँमा मृत भेटिएका अहेव घिमिरे दीर्घरोगी रहेको बताइएको छ । मुटु सम्बन्धि समस्या भएका घिमिरेले नियमित औषधी सेवन गर्दै आएका थिए । कोल्टे परेर सुतेको अवस्थामा उनी मृत भेटिएपछि उक्त घरका ब्यक्तिले प्रहरीलाई खबर गरेको डिएसपी खड्काको भनाइ छ । कानुनी प्रक्रियाका लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली घटना स्थल प्रस्थान गरेको उहाँले बताउनुभयो ।
बिहिबार गाउँपालिकामा भएको स्वास्थ्य सम्बन्धि कार्यक्रममा सहभागि भएर छुटेका अहेव घिमिरे आज अचानक मृत अवस्थामा फेला परेको खबर आएको खिदिमाका वडाध्यक्ष गोविन्द तामाङले बताउनुभयो ।
मृत अहेव घिमिरे स्वास्थ्य क्षेत्रको प्राविधिक क्षेत्रमासमेत ज्ञान भएका थिए । स्वास्थ्य संस्थामा डाटा संकलन लगायतका प्राविधिक कुराहरु बिग्रिएमा उनले बनाउने गरेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रिता ढकालले बताउनुभयो । शुक्रबार डाटा सम्बन्धि काम भएकाले पालिकाको कार्यालयमा बोलाउदा प्राविधिक काम मिलाउन भन्दै उनी मात्तिम गएका थिए । आइतबार पालिका आउछु भनेका अहेव घिमिरे मृत अवस्थामा भेटिएको खबर आएको ढकालको भनाइ छ ।
मृतक घिमिरेको परिवार हाल भक्तपुरमा बस्दै आएका छन् । घटना पश्चात परिवारहरु जिल्ला आउदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।