खोटाङ, असोज ६ । जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सोबारबाट भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै छ । तेस्रो केएफए अन्तर संस्थागत तथा भेट्रान फुटबल प्रतियोगिता सोमबार बिहान १०ः३० बजे उद्घाटन हुनेछ ।
खोटाङ फुटबल एकेडेमी मुख्य आयोजक एवं मनोज स्मृति प्रतिष्ठान सह–आयोजक रहेको यस प्रतियोगिताको तेस्रो संस्करणमा १० टिमले सहभागि जनाएका छन् । सोमबार भोली हुने उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ११ बजे सुरु हुने आयोजक संस्था केएफएका मुख्य प्रशिक्षक रोशेष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो १ बजे आयोजक केएफए र भुगर्व वेस्ट मेनेजमेन्ट प्रालि दिक्तेलबीच पतिस्पर्धा हुने छ । तेस्रो खेलमा दिउँसो ३ बजे नेर्पा स्पोर्टस क्लब र नुनथला स्पोर्टस क्लब भिड्ने छन् । पहिलो चरणको चौथो खेलमा मंगलबार बिहान केपिलासगढी गाउँपालिका र डिभिजन वन कार्यालय खोटाङबीच प्रतिस्पर्धा हुने छ । खोटेहाङ भेट्रान्स खोटाङ बजार र जिल्ला अस्पताल खोटाङ बाइ पाएर सिधै अर्को चरणमा प्रवेश गरेका छन् ।
सोमबार हुने उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सहिद मनोजको आमा र विशेष अतिथि दिक्तेल रपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई रहने प्रशक्षिक श्रेष्ठले बताए । असोज १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोल रक्षक र हाई गोल स्कोररलाई नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए ।
यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेको थियो ।