Sunday, October 6News That Matters

माछा मार्न गएका खोटाङका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ, असोज ७ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा बेपत्ता भएका हुन् ।

प्रत्यक्षदर्शीको भनाइ अनुसार माछा मार्न गएकाबेला नदीमा परेको चप्पल निकाल्न खोज्दा मगर नदीमै डुबेका हुन् । आइतबार मगर सहितको आठ जनाको समुह माछा मार्न दुधकोसी पुगेका थिए । चिप्लिएर खुट्टाको चप्पल नदीले बगाउन थालेपछि अठ्याउन खोज्दा मगर नदीमै बगेर बेपत्ता बनेको मंगलटारका वडाध्यक्ष गन राईले बताउनुभयो ।

साविकको मंगलटार–८ डाँडागाउँका मगर असोज ६ गते साँझ ५ बजेतिर कुखुरेबेँसीबाट बेपत्ता बनेका हुन् । घटनापछि प्रहरी र स्थानीयको टोलीले नदी आसपासमा बेपत्ता युवाको खोजी गरिरहेको वडाध्यक्ष राईले बताउनुभयो ।