Sunday, October 6News That Matters

खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशीले बगायो

सुनकोशीले पुल बगाएपछि पुल रहेको स्थान

खोटाङ, असोज १२ गते । खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशी नदीले बगाएको छ । सुनकोशी नदीमा आएको बाढीले शनिबार अपरान्ह मोटरेबल पुल बगाएको स्थानीय विकास राईले जानकारी दिनुभयो ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको उक्त पुल ‘आर्क’ डिजाइनको रहेको थियो । १२० मिटर लामो पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो । करिब ११ वर्षमा निर्माण भएको पुल सञ्चालनमा आएको २ वर्ष नपुग्दै सुनकोशीले शनिबार बगाएको हो ।

फोक्सिङ्टारमा पुल बनेपछि पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको थियो । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल सुनकोशीले बगाएसँगै खोटाङको तराईसँग सिधा सडक सम्पर्क टुटेको छ । पुल बगेपछि जिल्लावासी निराश भएका छन् ।