
खोटाङ, असोज १७ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा डेढ लाख पुरस्कार राशिको वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । “मझुवागढी कालिका भगवती दोस्रो संस्करण, ११–ए साइड खुल्ला अन्तर वडा स्तरीय पुरुष फुटबल कप” आगामी पुस २० देखि २७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिताको वडा कार्यालय आयोजक तथा नमुना स्पोर्टस क्लब सह–आयोजक रहेका छन् । प्रतियोगिता लफ्याङस्थित रणजितमान राई खेलमैदानमा सञ्चालन हुने खोटाङ जिल्ला फुटबल संघको कार्यालय दिक्तेलमा बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
एक टिममा १६ जना खेलाडी हुनेछन् । एउटा वडाले ३ जना जिल्ला भन्दा बाहिरको र ४ जना वडा बाहिरको तर जिल्ला भित्रको खेलाडी राख्न पाउने नमुना स्पोर्टस क्लकका पूर्वअध्यक्ष एवं खोटाङ जिल्ला फुटबल संघका महासचिव काजिमान राईले बताउनुभयो ।
प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले १ लाख १ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै, सेमिफाइनलिस्ट २ टिमलाई ३५ हजार ५३५ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
विधागततर्फ बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, बेष्ट किप्पर, बेष्ट कोच, हाई स्कोरर र बेष्ट प्लेयरलाई ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्ला फुटबल संघका महासचिव राईसँगै, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, पूर्व वडाध्यक्ष निर्मल राई, नमुना स्पोर्ट क्लबका अध्यक्ष सविन राई (विज्ञान), लगायतको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराइएको हो ।
